एउटाले विराउने शाखा सन्तान पिराउने, अग्रवालको घानमा अवैतनिक दूतहरु
प्रकाशित २०७६ चैत २७ बिहिबार
641
Shares
काठमाडौं। सरकारले नेपालमा रहेका विभिन्न देशका अवैतनिक दूत (अनररी कन्सुलर)हरूले चढ्ने सवारी साधनमा कुटनीतिक हैसियतमा प्रयोग गर्न दिइदै आएको निलो प्लेट र झण्डाको सुविधा स्थगित गरेको छ ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतामा बुधबार परराष्ट्र मन्त्रालयमा बसेको बैठकले नेपालमा रहेका विभिन्न देशका अवैतनिक दूतहरूलाई निलो प्लेटको गाडी र सम्बन्धीत देशको झण्डा राख्ने सुविधा हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।
किर्गिस्तानका अवैतनिक दूत तथा शंकर ग्रुपका संचालक सुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा मंगलबार पक्राउ परेपछि मन्त्री ज्ञवालीलाई तत्काल यस्तो सुविधा हटाउन दवाव परेको थियो। कतिपय सांसदहरुले त मन्त्री ज्ञवालीलाई फोन नै गरेर तत्काल सेवा रोक्ने निर्णय माग गरेका थिए। ।
अग्रवाललाई निलो प्लेटको गाडी चढेर ६७ थान इन्फ्रारेड थर्मोमिटर सहित महंगोमा बेच्ने क्रममा महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार अग्रवाललाई पक्राउ गरेको थियो । अग्रवालले कुटनीति नम्बर प्लेट भएको २०९–एचसीसी–१ नम्बर गाडीमा राखेर थर्मोमिटर प्रतिगोटा रू १५ हजारमा बेच्न लागेका थिए ।
मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा सुलभ अग्रवालको घटनापछि बुधबारबाटै लागू हुने गरि अवैतनिक दूतहरुलाई दिइने सेवा मन्त्रीस्तरिय निर्णयबाट रोकिएको उल्लेख छ भने अग्रवालको जिम्मेवारी खोसिएको थियो। मन्त्रालयको यो निर्णयले नेपालमा हाल रहेका ४५ बढि देशका अवैतनिक दूतहरू प्रभावित भएका छन्।
धेरैले यो निर्णयको स्वागत गरेपनि कतिपय अवैतनिक दूतहरुले भने एउटाले विराउने साखा सन्तान पिराउने खालको परिस्थिति भएको बताए। धेरै राम्रो छवी बनाएर बसेकाहरु पनि अग्रवाल जस्ता नाफाखोरहरुका कारण बद्नाम भएको केहि दूतहरुले अनौपचारिक रुपमा बताए।