arrow

ठमेलः सेक्स ट्रान्जिट होईन अब व्यवसायिक हब

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
thamel-1.JPG.jpeg
काठमाडौ‌। काठमाडौं स्वयभूकी सावित्री मल्ल तीन वर्ष अगाडिदेखि काठमाडौंको ठमेलमा एक गार्मेन्ट पसलमा काम गर्थिन्। तर, उनलाई आफू काम गर्ने ठाउँको बारेमा स्पष्टसँग अरूलाई भन्न पनि डर लाग्थ्यो र उनी भन्थिन् कि नयाँ बजारमा हो काम भनेर। उनको काम थियो गार्मेन्ट पसलमा एकाउन्टेन्टको तर उनी ‘ठमेल’ भन्ने शब्दबाट नै यस्तो त्रसित थिईन् कि लाग्थ्यो त्यो शब्दले नै उनको अस्मितामा आँच पुर्‍याउने छ। त्यो उनको मात्रै बाध्यता भने होईन। ‘ठमेल’ भन्ने शब्दले मात्रै पनि नेपाली जनजीवनमा यस्तो नकारात्मक असर पारेको छ कि यसको नाम सुन्ने वित्तिकै मानिसमा स्वतस्फूर्त नकारात्मक भाव पैदा हुन थालिहाल्छ।
 
पर्यटकीय हिसावले काठमाडौंको नाम सुन्ने वित्तिकै विदेशीहरूले भन्ने पहिलो शब्द नै होला, ठमेल। तर, यस्तै केही भित्री कारणले गर्दा अहिले मानिसहरू ठमेल भन्न पनि लजाउनुपर्ने तथा डराउनुपर्ने अवस्थामा छन्। के हो त कारण ? ठमेल पर्यटन विकास परिषद्का महासचिव गोविन्द प्रसाद पन्त भन्छन् ‘यहाँ सञ्चालित केही व्यवसायहरू जसले एउटा व्यवसायको नाममा गलतधन्दा सञ्चालन गरिरहेका छन्। उनीहरूको कारणले ठमेल भन्ने शब्द नै मानिसहरूको लागि अपाच्य विषय बन्न थालेको हो।’ उनले अहिले त्यस्तो व्यवसायलाई प्रहरी र व्यवसायीहरूको सहयोगमा निरूत्साहित गर्ने काम चलिरहेको दाबी गरे। 
 
सेक्स ट्रान्जिटबाट व्यवसायिक हब तर्फ ठमेल 
केही समय अगाडिसम्म ठमेल भन्ने वित्तिकै यसलाई सेक्स ट्रान्जिटको रूपमा लिने नेपाली प्रचलनमा अहिले परिवर्तन हुँदै आएको पर्यटन व्यवसायीहरू बताउँछन्। झण्डै १५ वर्षदेखि गार्मेन्ट व्यवसाय सञ्चालन गर्दै आएका पन्तका अनुसार ठूलो मात्रामा रहेका त्यस्ता अनैतिक काममा संलग्न हुने व्यवसायीहरूलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएपछि अहिले भने ठमेल त्यस्तो ट्रान्जिटको रूपमा नरहेको उनको दाबी थियो। 
 
मसाज सेन्टर नै सेक्स व्यवसायको अखडा 
पन्त भन्छन् ठमेलका मसाजसेन्टरहरू नै सबैभन्दा बढी यौन धन्दामा संलग्न हुनेगरेकोले धेरै मसाज सेन्टरहरू बन्द समेत गरिसकिएको छ। ‘गत साता मात्रै हामीले आठवटा मसाज सेन्टरहरूलाई नियन्त्रणमा लिएर उनीहरूलाई प्रहरीको जिम्मा पनि लगाईसकेका छौं।’ उनी भन्छन् ‘हामीले पछिल्लो समय यही अव्यवस्था हटाउनको लागि भनेर मसाज सेण्टरको लागि छुट्टै मापदण्ड पनि बनाएका छौं।’ 
उनीहरूलाई अध्यारो कोठामा मसाज सेण्टर सञ्चालन गर्न नदिने, ढोका बन्द गरेर सेवा सञ्चालन गर्न नदिने लगायतका शर्तहरू राखिसकेको उनले जानकारी दिए। यसरी मसाज व्यवसायी, परिषद् र प्रहरीको त्रिपक्षीय वार्ताबाट तयार पारिएको मापदण्ड पुरा गरेर आउने मसाज सेण्टरले मात्रै वयवसाय सञ्चालन गर्न पाउँछन्। 
 
एक हजार थियो, ६०मा झर्‍यो  
गत वर्षसम्म एक हजार भन्दा बढी रहेको मसाज सेण्टर अहिले ६० वटा जतिको हारारहारीमा झरेकानेले यस्ता अनैतिक काम हुन्छ भनेर चिन्ता लिनुपर्ने अवस्था नरहेको परिषद्ले जनाएको छ। त्यस्ता शंकास्पद मसाज सेण्टरहरू बन्द गरिँदै जाँदा अहिले भने ६० वटाको हाराहारीमा मात्रै मसाज सेण्टरहरू रहेको परिषद्ले जनाएको छ। परिषद्का अनुसार गत साता मात्रै आठ वटा भन्दा बढी मसाज सेण्टरमा प्रहरीले छापा मारेर सेण्टर बन्द गरिदिएको थियो। 
 
२४ घण्टे सेवामा टेक्निकल समस्या
ठमेल तथा काठमाडौंको दरबारमार्गको पसलहरू २४ घण्टा सञ्चालनमा ल्याउने कुरा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। पटकपटक म्याद थप गर्दै आएको सो सेवाको कुरा अहिलेसम्म सुरूवात नहुनुको मुख्य कारण प्राविधिक समस्या रहेको परिषद्ले जनाएको छ। यसको काम दू्रत गतिमा अघि बढीरहेको भन्दै अबको केही समयमा नै यो सेवा सञ्चालनमा आउने महासचिव पन्तले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ