कृषि क्षेत्रको विस्तारले आयत र रेमिट्यन्स प्रतिस्थापन गर्न सक्छ : रामचन्द्र पौडेल
प्रकाशित २०७६ चैत २८ शुक्रबार
531
Shares
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रलाई उकास्नका लागि कृषि मात्र उत्तम विकल्प भएको बताएका छन् ।
नेता पौडेलले शुक्रवार फेसबुक लाईभ मार्फत नेपालको अर्थतन्त्रका आधारहरु उर्जा, पर्यटन र कृषि मध्ये उर्जा र पर्यटनको संभावना कोरोनाका कारण न्यून भएकाले कृषि मात्र विकल्प भएको बताए । उनले कृषिको विस्तारले मुलुकको आयत र रेमिट्यन्स प्रतिस्थापन गर्ने भएकाले अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताए ।
पौडेलले कृषिमा क्रान्ति ल्याउनका लागि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रसार तथा कृषिको वजारलाई विस्तार गरेर विचौलियाको राज अन्तय गर्न जरुरी भएको बताए । उनले नेपालका उपयोग हुन नसकेका जमिनको उपयोगका लागि भूमि बैंक स्थापना गरि जग्गाको उपयोग गर्नुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले लकडाउनको अवस्थामा पनि कृषि उपजलाई वजारमा पठाउन रोक नलगाउन समेत आग्रह गरे । पौडेलले किसानको उत्पादन नष्ट हुने तर वजारको अभावलाई अन्त्य गर्नका लागि कृषि लकडाउनको अवस्थामा पनि कृषि उपजलाई वजारमा ल्याउने व्यवस्था गर्न माग गरे ।
नेता पौडेलले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिनुपर्ने बताए । उनले जनताको सेवा र जनतालाई टेवा दिनका लागि सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताए ।