arrow

लकडाउनमा मोटरसाइकल चलाउन नपाइने

logo
रासस,
प्रकाशित २०७७ वैशाख १ सोमबार
pakrau-bike.jpg

हेटौँडा। मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ। भोलिदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ। किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ।  

वाग्मती प्रदेश मकवानपुरसँग जोडिएका प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत कोरोना भाइरसको सङ्क्रमित फेला परिसकेको अवस्थामा विभिन्न बहानामा व्यक्तिहरु बजार आउजाउ गरेका कारण लकडाउन प्रभावकारी नहुने देखिएकाले कडा बनाउन मुख्यमन्त्री पौडेलले निर्देशन दिएका छन्। पौडेलले प्रदेशका सबै जिल्लामा वडावडामा खाद्य सामग्री किनमेल गर्न मिल्ने व्यवस्था गरेर नागरिकलाई एउटा वडाबाट अर्को वडामा आउजाउ गर्न नपाउने अवस्था बनाउन निर्देशन दिएका थिए। मुख्यमन्त्री पौडेलको निर्देशनपछि बसेको जिल्ला कमान्ड पोष्ट मकवानपुरको बैठकले लकडाउनलाई कडा गर्ने निर्णय गरेको हो। 


प्रदेशका अन्य जिल्लामा समेत लकडाउन कडा बनाइने र सङ्क्रमण फैलन नदिने वातावरण निर्माण गरिने प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले जानकारी दिए। “हामी लकडाउन कार्यान्वयनमा प्रतिबद्ध छौं र वर्तमान संवेदनशीलतालाई ध्यान दिएर लकडाउनलाई थप साँघुरो बनाउँदै जान्छौँ”, उनले भने।

यसैबीच नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर हेटौँडाले कोरोना भाइरसको अवस्था नेपालमा आइपर्न सक्ने जोखिम र सम्भावित जोखिमको सामना गर्न गर्नसकिने कामहरुका बारेमा मुख्यमन्त्री पौडेललाई आज ब्रिफिङ गरेको छ। पृतनापति ताराध्वज पाण्डे, महासेनानी प्रकाशराज थापा लगायतको सैनिक टोलीले भारतमा गएको एक हप्तामा कोरोना सङ्क्रमणको दर दोब्बर बढेको र कोरोनाका कारण मारिनेको सङ्ख्यासमेत बढिरहेको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावका बारेमा विश्लेषण प्रस्तुत गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ