तातोपानी नाकाबाट आयात–निर्यात सहजरूपमा गर्ने निर्णय
रासस,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
503
Shares
मेलम्ची। नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ । सीमा क्षेत्रमा भएको नियमित बैठकमा सो निर्णय भएको हो।
बैठकको निर्णयबारे जानकारी दिँदै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले अब नेपाली पक्ष सामान ढुवानी गर्न पहिले जसरी खासा पुग्न नपर्ने बताउनुभयो । मितेरी पुलपारि चिनियाँ क्षेत्रमा सामान ढुवानी गर्न जाने नेपालीको हेल्थ सटिर्फिकेट अनिवार्य गरिएको छ । सामान ढुवानी गर्न जाने कन्टेनरका चालक, सहचालक र मजदूरले जाङ्मुपोर्टको भन्सार यार्ड प्रवेश गर्नुपूर्व हेल्थ सटिर्फिकेट देखाउनुपर्नेछ । “चिनियाँ पक्षले न्यालमबाट ल्याएका सामान मितेरी पुलपारि भन्सार यार्डमा अनलोड गर्ने र नेपाली कन्टेनरमा लोड गरेर लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्ने निर्णय भएको छ”, बैठकमा अध्यक्षता गर्नुभएका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो ।
चिनियाँ पक्षले मितेरी पुलसँगै जोडिएको भन्सार यार्डमा सामान ल्याएर नेपाली पक्षलाई दिनेछन् । मितेरी पुलपारि भन्सार यार्डमा सामान आएपछि लार्चास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चिनियाँ भन्सारले जानकारी गराउनेछ । पूर्वजानकारीअनुसार सामान डेलिभरी गर्ने व्यवस्था भन्सार कार्यालयले गर्नेछ ।
दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा हेल्थ सटिर्फिकेट देखाउनुपर्नेछ। सीमामा नेपाल–चीन दुवैपट्टि हेल्थ डेस्क स्थापना गरिएका छन्। चीनका तर्फबाट स्वशासित क्षेत्र तिब्बतको न्यालम जिल्लाका सिडियो मिस्टर फेङ लि वीलगायत सातजना सहभागी थिए। नेपालतर्फ ढकालसहित सुरक्षा निकाय, अध्यागमन, भन्सार, जिल्ला जनस्वास्थ्य र क्वारेन्टाइनका प्रमुख गरी नौ सदस्य सहभागी थिए।