arrow

गगन र प्रदिपको विहे एकैदिन !

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
Gagan-Pradip-Marriage.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेस भित्र नेताद्धय गगनकुमार थापा र प्रदिप पौडेललाई आम कार्यकर्ताले दाजुभाई जस्तो वा एक अर्काका सवै भन्दा निकट साथीका रुपमा चिन्ने गर्दछन् । उनीहरुलाई काँग्रेस रुपी रथका दुई पांग्राका रुपमा पनि चित्रित गर्ने गरेको पाईन्छ । राजनितिक सहयात्रामा उनीहरु अधिकांश समय गगन थापा अघिअघि प्रदिप पौडेल पछिपछि सहयात्रा गरेको देखिन्छ । हुदा हुदा उनीहरुको विहे पनि एकैदिन भएको छ  - बैशाख १५ गते । गगनले आठ बर्ष अगाडी २०६५ साल बैशाख १५ गते विहे गरेका थिए भने प्रदिप पौडेलले २०७३ सालको बैशाख १५ गते विहे गरेका छन् ।  
 
गगनले आफ्नो बैवाहिक बार्षिकोत्सवको दिन फेसवुकमा लेखेका छन् “वैशाख १५, आठ वर्ष अगाडि आजकै दिन अन्जना र म प्रणयसुत्रमा बाँधिएका थियौं । दुई छोरी गार्गी र जियानाले हाम्रो परिवारलाई पूर्ण बनाएका छन् । मेरो रोजाइ, मेरो प्राथमिकता, यो सबैले पक्कै पनि सजिलो बनाएन हाम्रो यो यात्रालाई, तर पनि मैले सधैं साथ पाइरहेँ, माया पाइरहेँ, ढाडस पाइरहेँ, प्रोत्साहन पाइरहेँ । अझ बढी माया, अझ बढी विश्वास र समझदारीका साथ हाम्रो यात्रा अगाडि बढिरहनेछ एउटै गन्तव्य तर्फ!!”
 
यस पटकको बैशाख १५ गते गगनले फेसवुक मार्फत् आफ्नो बैवाहिक जीवनको अनुभव सेयर गरिरहदाँ प्रदिपले भने नेविसंघकी नेतृ एन्जीला न्यौपानेलाई सिन्दुर लगाईदिदै वैवाहिक जीवन सुरु गरेका छन् । 
 
उनीहरुको विहेको दिन जुधेकोमा नेविसंघ भित्र विभिन्न खाले चर्चा भईरहेको छ । प्रदिप निकटस्थहरुले यस्लाई संयोग मात्र मानेका छन् भने अन्यले योजनाबद्ध तरिकाले दिन जुधाएको दावी गर्दछन् । “नेविसंघ देखि पार्टी सम्मको राजनितिक यात्रामा गगनलाई प्रदिपले धेरैकुरामा पछ्याएको देखिन्छ, विहेको विषयमा पनि उनले पछ्याए,” अधिकाँंशको सहज टिप्पणी सुनिन्छ । 
 
विद्यालय तहको शिक्षा दुवै जनाले सिद्धार्थ बनस्थलीमा लिएका हुन् भने उच्च शिक्षाका लागि त्रिचन्द्र क्याम्पस पुगेका गगन र अस्कल छिरेका प्रदिप दुवै जनाको रोजाईको विषय पनि साझा बन्यो  - विज्ञान संकाय । दुवै जना आ आफ्ना क्याम्पसमा स्ववियु सभापति भएर नेविसंघको केन्द्रीय राजनितिमा हानिए । केन्द्रीय समितिमा पनि दुवैजनासंगसगै भए भने पोखरा महाधिवेशनबाट नेविसंघको सभापति हुन लागेका विद्यार्थी नेता थापालाई गणतन्त्रको नारा लगाएकै कारण सभापति बन्न नदिएर महाधिवेशन स्थगित गरियो । त्यसपछि भएको महाधिवेशनमा आफु उठ्न नपाएपछि गगनले प्रदिपलाई आफ्नो उम्मेदवार बनाएर नेविसंघको सभापति बनाए । 
 
पार्टी राजनितिमा प्रवेश गर्दा पनि गगनले १२औं महाधिवेशनमा सर्वाधिक मतका साथ खुल्ला केन्द्रीय सदस्यमा प्रथम भएर पहिलो पटक केन्द्रीय सदस्य बने भने प्रदिप पौडेलले त्यतिवेला पराजित भएपनि १३औं महाधिवेशनमा छैठौं नम्वर सहित केन्द्रीय सदस्य भएका छन् । 
 
भूकम्पपछिको उद्धार, राहत र पुर्ननिर्माणमा पनि उनीहरुले सवैका लागि अनुकरणीय अभियान छुट्टा छुट्टै चलाए । पछि त्यसलाई अन्य पार्टीका युवाहरुले पनि अनुकरण गरे । पुर्ननिर्माण अभियानको उद्घोष सहित किलाकाँटा लिएर गाँउ पसेका गगन थापालाई केही दिनमै प्रदिप पौडेलले पछ्याए, त्यसपछि युवाहरु पुर्ननिर्माणमा लाग्ने लहर नै चल्यो ।  
 
गगन २०३३ सालमा जन्मेका हुन भने प्रदिप २०३१ सालमा । उमेरमा प्रदिप दाई भएपनि राजनितिमा गगन दाई भएका छन् । उनीहरु दुवैले एक अर्कालाई ‘तिमी’ संवोधन गर्दछन् । प्रदिपले ४२ बर्षमा विहे गरे भने गगनले ३२ बर्षको उमेरमा विहे गरे । गगन प्रदिप दुवै जनाले राजनितिक चिनजान सहितको प्रेम संवन्धलाई विवाहमा परिणत गरेका हुन् । गगनले काँग्रसका प्रभावशाली नेता अर्जुननरसिंह केसीकी छोरी डा. अन्जना केसीलाई जीवन साथी बनाए भने प्रदिपले झण्डै १२ बर्ष देखि आफु निकट रहेकी पिके क्याम्पसकी स्ववियु सचिव एन्जीला न्यौपानेसंग औपचारिक संवन्ध गाँसे । 
 
गगन र प्रदिपका धेरै कुरा उस्तै उस्तै भएपनि गगनको एउटा अति अनुकरणीय कदम भने प्रदिपको जीवनमा मेल खाएन । त्यो के भने गगनले आफ्नो विहेको भोजका लागि छुट्याएको रकम पाटन अस्पताललाई सहयोग स्वरुप दिए भने प्रदिपले शसस्त्र प्रहरी बलको मुख्यालयमा भव्य भोजको आयोजना गरेका छन् । वैशाख १८ गते दिउसो २ बजेका लागि उनले अधिकांश निकटवर्तीहरुलाई निमन्त्रणा गरेका छन् । 
 
काँग्रेस नेता पौडेलको विहेसंगै काँग्रेस र त्यसका भातृ संगठनका अविवाहित नेताहरुको विवाहको चर्चा फेरी बढ्न थालेको छ । काँग्रेस केन्द्रीय समितिमै विवाह नगर्नेहरुको संख्या ठुलै छ भने भातृ संगठनहरुमा पनि विवाहको उमेर ढल्केकाहरु धेरै छन् । 
 
काँग्रेसका निर्वाचित को को छन् अविवाहित ?
 
काठमाडौं । नेपाली काँग्रेसको राजनितिमा विवाहले विषेश अर्थ राखेको पाईन्छ । काँग्रेसका अधिकांश शिर्ष नेताहरु कोही जीवनभरी अविवाहित नै रहे भने कोही विवाहपछि पनि लामो समय दाम्पत्य जीवन विताउन पाएनन् । 
 
काँग्रेसका निवर्तमान सभापति सुशील कोईराला र पुर्वसभापति कृष्णप्रसाद भट्टराई आजीवन अविवाहित नै रहनु भयो । अर्का पुर्व सभापति गिरिजाप्रसाद कोईरालाले निकै छोटो समय मात्रै दाम्पत्य जीवन पाउनुभयो । 
 
नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पनि निकै ठिलो विवाह गर्नु भयो । मुलुकको गृहमन्त्री भएका बेला उहाँले डा. आरजु राणासंग विवाह गर्नु भएको हो । 
 
अहिलेको केन्द्रीय समितिमा अन्य नेताहरु पनि यस्ता धेरै छन्, जो कतिपय अहिले सम्म पनि अविविवाहित नै छन् भने कतिपयले निकै ढिला मात्रै विवाह गरेका छन् । 
 
केन्द्रीय समितिमा नवनिर्वाचित अविवाहितहरु मध्ये महिलाहरु नै धेरै पाइएको छ । हामीले थाहा पाएसम्म ६४ सदस्यीय निर्वाचित केन्द्रीय समितिमा चार जना मात्रै अविवाहित छन्, त्यस मध्ये एक जना मात्रै पुरुष नेता अविवाहित छन् भने तिन जना महिला नेतृ अविवाहित छन् । 
 
काँग्रेसका पुराना नेता फरमुल्लाह मनसुरको विवाहको संभावना भने न्युन हुदै गएको छ । ६० बर्ष नाघेका मन्सुरले अहिले सम्म विवाह गरेका छैनन्, त्यसैले अव विवाह गर्ने संभावना न्युन रहेको उनलाई चिन्नेहरु बताउछन् । लामो समय राजनितिमा सक्रिय मुस्लिम समुदायका मन्सुर काँग्रेस भित्र इमान्दार र सोझा नेताका रुपमा चिनिन्छन् ।
 
महिला संघकी पुर्वअध्यक्ष तथा सांसद अम्वीका बस्नेत उमेरले ५० नाघि सकेकी छन्, तर पनि विवाह गर्न भ्याईनन् । उनी काठमाडौं निवासी हुन् । बस्नेत यसअघि पनि केन्द्रीय सदस्य थिईन भने अहिले पनि महिला आरक्षणबाट केन्द्रीय सदस्य भईन् । 
 
झापा घर भएकी सरिता प्रसाई उमेरले ४० बर्ष काटेकी छिन् । महिला आरक्षणबाट केन्द्रीय सदस्य भएकी प्रसाई अहिले पहिलो पटक केन्द्रीय सदस्य भएकी हुन् । उनी समानुपातिक तर्फबाट सांसद पनि छिन् । 
 
दलित महिला कोटाबाट दोस्रो पटक केन्द्रीय सदस्य भएकी सुजाता परियारको घर इलाम हो। मनोनित सांसद समेत रहेकी परियार राजनितिमा निकै सक्रिय देखिन्छीन् । 
 
काँग्रेसका अर्का दुई नेतृ रत्ना शेरचन र सिता गुरुङले भने केही समय अगाडी मात्रै विवाह गरेका छन् । नेतृ शेरचनले निकै ढिला गरेर काँग्रेसकै नेता सुनिल भण्डरीसंग विवाह गरेकी हुन् । भण्डारी गिरिजाप्रसाद कोईराला नेतृत्वको कार्यसमितिमा केन्द्रीय सदस्य थिए । 
 
अर्का चर्चित नेता प्रदीप गिरीको विवाहका बारेमा भने उनका निकटस्थहरुकै फरक फरक मत पाईन्छ । भारती सिलवालसंग संगै बस्दै आएका गिरीले भारतीसंग औपचारिक विवाह नगरेकाले उनीहरको विवाह मान्ने की नमान्ने आ आफ्नै तर्क पाईन्छ । 
 
केन्द्रीय सदस्य नभएपनि सांसदमा भने विजयी भएका काँग्रेसका युवा नेता रामहरि खतिवडाको विवाहको चर्चा काँग्रेसमा निकै धैरै हुने गरेको छ । लोभलाग्दो आकर्षक शारिरिक बनावट भएका र विहेको चर्चा गर्दा मज्जा मान्ने भएकाले पनि उनको चर्चा बढी  र सहज हुने गरेको पाईन्छ । 
 
काँग्रेसमा विवाहका सन्दर्भका पुर्वसभापति तथा पुर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनशैली सर्वाधिक चर्चाको विषय हुने गरेको छ । उनले विवाह त गरेनन् तर अनिता कपालीलाई सहयोगी बनाएर संधैसंगै राखे । यसलाई अनौठो मानिएपनि अपाच्य भने मानिएको छैन । 
 
नेविसंघका को को छन् विवाहको लाईनमा 
काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा पढ्ने उमेरका भन्दा पढाई सकेर विहेको उमेर समेत पार भईसकेका नेताहरु धेरै नै छन् । 
 
नेविसंघका पुर्व अध्यक्षद्धय महेन्द्र शर्मा र केशव सिंह उमेरले ५० को हाराहारीमा पुगेपनि अहिले सम्म विहे गरेका छैनन् । शर्माको नेविसंघकै एक नेतृसंग नाम जोडेर लामो समयदेखि चर्चा सुनिन्छ । नेविसंघका अर्का पुर्व अध्यक्ष कल्याण गुरुङले भने झण्डै १५ बर्ष देखिको प्रेम संवन्धलाई केही समय अगाडी वैवाहिक संवन्धमा रुपान्तरण गरेका छन् । अर्का नेता रत्न कार्कीले पनि केहीदिन अगाडी घरजम गरेका छन् । 
 
नेविसंघको अध्यक्षका आकांक्षीहरु कुन्दनराज काफ्ले, निलकण्ठ रिजाल, जितजंग बस्नेत लगायतका नेता नै विहे गर्न वाँकी छन् । विहे गर्न ढिलो भईसकेका अन्य नेताहरुमा खिमानसिं रायमाझी,  टिका गुरुङ, भिम श्रीस लगायत रहेका छन् । 
 
त्यसैगरी नेतृहरुमा साधना घिमिरे, प्रतिमा गौतम, सृजना अधिकारी, लक्ष्मी खतिवडा, इन्दीरा तिवारी, तुल्सा पन्त लगायतका रहेका छन् । उनीहरु मध्ये केही नेतृ विवाहको निकट रहेको बताईन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ