वालुवाटारको दवावपछि रेडियो नेपालले हटायो बाबुरामको अन्तर्वार्ता, माग्यो क्षमा
प्रकाशित २०७७ वैशाख १५ सोमबार
702
Shares
काठमाडौं। रेडियो नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेको भाषा र विचारलाई हटाउँदै क्षमा मागेको छ।
सोमबार बिहान साँढे ६ बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अतिथिका रूपमा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा नवराज लम्सालले कुराकानी गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध कडा टिप्पणी दिदै आएका भट्टराईले सोमबार विहान प्रधानमन्त्रीमाथि अध्यादेश प्रकरणसँग जोडिएको सांसद अपहरण र प्रहरीले उजुरी नलिएको बारेमा बोलेका थिए। कार्यक्रममा भट्टराईको अभिव्यक्ति पछि नेकपा निकट केहि सरकारी संचार माध्यममा कार्यरत कर्मचारी पत्रकारहरुले वालुवाटारलाई सो जानकारी दिएका थिए।
रेडियो नेपालमा भट्टराईको सो अभिव्यक्ति आएको थाहा पाएपछि कार्यकारी निर्देशक शुरेस कुमार कार्कीसँग रिसाएको वालुवाटार सचिवालयले तत्काल सो प्रकरणमा माफी माग्दै रेकर्डबाट हटाउन निर्देशन दिदै अन्यथा कार्वाही भोग्न तयार हुन चेतावनी दिएको थियो।
त्यसपछि कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुखी तुल्याएको भन्दै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विज्ञप्ति निकालेका थिए।
‘समाचार महाशाखा प्रमुख डा नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ।
यो प्रकरण सार्वजनिक भएसँगै सामाजिक संजालमा यसलाई सरकारको निरंकुश शैलीको विस्तारित रुपमा अर्थ्याइएको छ।