arrow

कार्यपालिका बैठकमा भाग नलिने चेतावनी पछि बुझिन रेणुले ज्ञापनपत्र

कोरोना अस्पताल चोरीमा संलग्नलाई वडाध्यक्षहरुले गरे कार्वाहीको माग

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
corona-hospital-chori-mayor.gif

चितवन। भरतपुर कोरोना अस्पतालका सामग्री चोरी गरेको आरोप लागेका कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन भरतपुर महानगरपालिकालाई उपमेयरसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले माग गरेका छन् ।

बुधवार महानगरका मेयर रेणु दाहाललाई भेटेर ज्ञापनपत्र बुझाउँदै उनीहरुले महानगरबाट खटिएका कर्मचारीसमेतको संलग्नतामा अस्पतालका सामग्री चोरी गरिएको गम्भीर आरोप लागेकाले तत्काल उनीहरुलाई कारबाही गर्न माग गरिएको हो ।

मेयर दाहालले शुरुमा ज्ञापनपत्र बुझ्न आनाकानी गरेपछि वडा अध्यक्षहरुले आगामी कार्यपालिका वैठकमा भाग नलिने चेतावनी दिएका थिए। वडा अध्यक्षहरुको चेतावनी पछि मेयर दाहालले ज्ञापनपत्र बुझेकी थिइन। उनीहरुले आरोपितहरुको छानविन गरि कार्वाही गर्नुपर्ने अन्यथा यसको सम्पूर्ण जवाफदेही मेयर हुनुपर्ने भन्दै मेयरलाई सचेत पनि गराएका थिए।   

“यस कार्यालयका कर्मचारीसमेतको संलग्नतामा अस्पतालबाट कोरोना उपचारका लागि आवश्यक सामग्रीहरु अपचलन (चोरी)गरी लगेको कुरा विभिन्न समाचारमाध्यम, सामाजिक सञ्जाल र अस्पतालको प्रत्यक्ष सीसीटिभी फूटेजबाट बाहिर आएको छ”, मेयरलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “उल्लेखित कार्य गर्ने यस कार्यालयका कर्मचारीलाई यथाशीघ्र निलम्बन गरी संलग्न अन्य सहभागीसमेतलाई कारबाही गरी आवश्यक छानबिन गर्न अनुरोध गर्दछौं।”

अस्पताललाई आर्थिक हानी पुर्‍याउने कार्य आर्थिक भ्रष्टाचारजन्य गम्भीर अपराध भएको उपमेयर तथा वडाध्यक्षहरुको ठहर छ। उक्त पत्रमा उपमेयरसहित १३ जना वडाध्यक्ष र दुई जना कार्यपालिका सदस्यसमेतले हस्ताक्षर गरेका छन् ।

भरतपुर–२१ का वडाध्यक्ष चित्रसेन अधिकारीको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा उपमेयर पार्वती शाह ठकुरी, वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, वडा नम्बर ६ का हरिविलास कोइराला, ८ का अध्यक्ष दामोदर न्यौपाने, १४ का अध्यक्ष ओमप्रकाश पोखरेल, १५ का अध्यक्ष शम्भुबहादुर भण्डारी, १६ का अध्यक्ष अमृतराज हमाल, १७ का अध्यक्ष ललितमान तामाङ, १८ का अध्यक्ष दीपक लामा, १९ का अध्यक्ष कर्णबहादुर गुरुङ, २० का अध्यक्ष मणिलाल तामाङ, २७ का अध्यक्ष गोविन्दबहादुर तामाङ तथा कार्यपालिका सदस्यद्वय पवित्रा केसी गीता शर्माले हस्ताक्षर गरेका छन् ।

परिवारका सदस्य विरामी भएर काठमाडौं गएका कारण उपमेयर शाह उपस्थित नभएको भरतपुर २१का वडा अध्यक्ष अधिकारीले जानकारी दिए। उनको अनुपस्थितिमा टोलीको नेतृत्व वडाध्यक्ष अधिकारीले नै गरेका थिए। अधिकारीले महानगरका कर्मचारीकै संलग्नतामा मानविय संवेदनाको विषय रहेको अस्पतालको सामानमा गम्भीर अपचलनको घटना बाहिर आउँदा महानगरले आँखा चिम्लिएर बस्न नहुने बताए । “यो सिंगो महानगरकै गरिमा घट्ने कुरा हो”,  अधिकारीले भने “आवश्यक छानबिनका लागि उनीहरुलाई तत्कालै निलम्बन गरिहाल्नुपर्छ भन्ने हाम्रो माग हो ।”

नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले पार्टीको धारणाअनुसार नै महानगरमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले मेयरसँग उक्त माग गरेको बताए । बुधवार विहान सबै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको वैठक पछि ज्ञापन पत्र दिने निर्णय पछि महानगरलाई ज्ञापन पत्र दिइएको जोशीले बताए। “पार्टीको धारणा भनेको पर्याप्त आधारसहित चोरी र आर्थिक अनियमितताको आरोप लागेपछि ती कर्मचारी छानबिनको दायरामा आउनुपर्छ भन्ने हो”, उनले भने, “ आरोपितहरुलाई महानगरले छानबिनका लागि निलम्बनसमेत नगर्नु दुखद हो।”

नेपाली कांग्रेस चितवनले २ दिनअघि चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई समेत चोरी र आर्थिक अनियमितताको छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

कोरोना संक्रमणको महामारी सुरु भएपछि स्थापना भएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा विभिन्न भूमिकामा काम गर्दा फणिन्द्रप्रसाद खनाल, सञ्जय बराल र सूर्य तिवारीले स्टोरबाट सामान चोरेको आरोप लागेको छ । उनीहरु तीनै जना देखिने सीसीटिभी फूटेजमा रातको समयमा उनीहरुले स्टोरका विभिन्न सामान पोको पारेर बाहिरिएको देखिन्छ । तीन जनामध्ये खनाल र तिवारी भरतपुर महानगरका कर्मचारी हुन् । बराल भने भरतपुर अस्पतालमा कार्यरत छन् ।

आरोपितहरुलाई मेयर रेणु दाहलले संरक्षण गर्न खोजेको आरोप समेत छ। यहि बीचमा आर्थिक अनियमितताको सूचना बाहिरिएपछि मंगलवार मात्रै हेटौंडा कार्यालयबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अस्पतालमा छापा मारेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ