भारतका कुल कोरोना संक्रमित मध्ये ०.३३ प्रतिशत मात्रै भेन्टिलेटरमा
एएनआई,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
475
Shares
नयाँदिल्ली। भारतमा कोरोना भाइरसबाट संक्रमित कुल विरामी मध्ये ०.३३ प्रतिशतलाई मात्रै भेन्टिलेटरमा राखिएको छ। केन्द्रिय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले बुधबार दिएको जानकारीअनुसार कोरोना भाइरसबाट संक्रमति मध्ये निकै थोरैलाई पनि भेन्टिलेटरको आवश्यकता परेको छ।
उनले भने, “कुल संक्रमित मध्ये ०.३३ प्रतिशतलाई मात्रै भेन्टिलेटरमा राखिएको छ, अरुलाई राख्नु परेको छैन।” त्यसैगरी अरु १.५ प्रतिशतलाई अक्सिजन ग्याँस दिनेगरी राखिएको र २.३४ प्रतिशत विरामीलाई आईसियुमा राखिएको उनले जानकारी दिए। लायन्स क्लव इन्टरनेशनलसँगको भिडियो सम्मेलनमा उनले यो तथ्यांकले देशको स्वास्थ्य सेवाको गुणस्तर झल्काउने तर्क पनि गरे।
कार्यक्रममा उनले कोरोना भाइरसविरुद्ध लड्न भारत सरकारले गरिरहेका प्रयास र अपनाएका उपायहरुका बारेमा पनि जानकारी दिएका थिए। स्वास्थ्य मन्त्री बर्धनले मुख्य गरेर पाँच पक्षमा आफुहरुले ध्यान दिएको पनि बताए। उनका अनुसार अवस्थालाई सम्हाल्दै जनचेतनामा जोड दिने, पूर्व तयारीको कार्य, तिव्र रुपमा विकसीत अवस्थाको विश्लेषण तथा मुल्यांकन, सवै तहका अन्तरक्षेत्र संयोजन र रोगविरुद्ध लड्न आम नागरिकलाई लगाउने अवस्थाको सृजना गर्ने कार्य भइरहेको छ।
कोरोना भाइरस विरुद्धको लडाईमा भारतको राम्रो गरिरहेको, आफुहरु सन्तोषजनक अवस्थामा रहेको र अन्य देशको तुलनामा सफलता पनि प्राप्त भएको उनको भनाई छ।
आफ्नो देशले कोरोना भाइरस विरुद्ध लड्न सिफारिस गरिएको अन्तर्राष्ट्रिय सुझाव तथा मापदण्डहरुलाई पालना गरेकाले पनि डरलाग्दो अवस्था नआएको स्वास्थ्य मन्त्री बर्धनले बताए।