arrow

देउवाद्धारा काँग्रेस कार्यालय तोडफोड !

सभापतिका लागि वास्तु मिलाउने कार्य धमाधम

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
Congress-office.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री भएका बेला पार्टी विभाजन गराएका काँग्रेस नेता शेरबहादुर देउवाले अहिले भने पार्टी सभापति भएपछि पार्टी कार्यालय नै तोडफोड गरेका छन् । ललितपुरको सानेपा स्थीत काँग्रेसको केन्द्रीय कार्यालयमा केहीदिन देखि तोडफोड भईरहेको छ । तोडफोड अझै एक महिना सम्म भईरहने जनाईएको छ । त्यो तोडफोड कुनै नराम्रो कामका लागि नभई कार्यालयलाई व्यवस्थीत, उपयोगी र काम गर्न सहज हुनेगरी गर्न लागिएको देउवाका सहयोगीहरुले बताएका छन् । 
 
सभापति देउवाले कार्यालयको व्यवस्थापनका लागि समन्वयन गर्ने जिम्मेवारी दिएका काँग्रेस सांसद उमेश श्रेष्ठले केन्द्रीय कार्यालयलाई कार्यमैत्री बनाउनका लागि मिलाउने काम भईरहेको हाम्राकुरालाई बताए । “त्यहाँका केही स्वरुपहरु फङसनेवल नभएको लाग्यो, त्यसैले फङसनेवल बनाउनका लागि सामान्य मिलाउने काम भईरहेको हो,” उनले भने । 
 
श्रेष्ठले अगाडी थपे “काँग्रेस केन्द्रीय कार्यालय भनेको सवैको कार्यालय हो त्यहाँ विभिन्न प्रकारका छलफल, बैठक तथा कार्यक्रमहरु हुन्छन्, त्यस्ता कार्यक्रम तथा गतिविधिहरु गर्न सहज हुनेगरी बनाउने कार्य भईरहेको हो । ”
 
“काँग्रेसका सुवेच्छुकहरुको सहयोगमा यस्तो राम्रो यस्तो भव्य विल्डीङ बनेको छ । त्यसलाई जतिसक्दो धेरै उपयोगी, चलायमान र काम गर्न सजिलो गराउने हाम्रो प्रयास हो,” उनले थप स्पष्ट पारे । 
 
भत्काउने र मिलाउने सिलशिलामा सभापति देउवाको कार्याकक्षलाई निकै धेरै महत्व र प्राथमिकता दिईएको छ । सांसद श्रेष्ठका अनुसार केन्द्रीय कार्यालयमा पार्टी सभापतिको कार्यकक्ष व्यवस्थीत र प्रभावकारी कार्यकक्ष बनाउन कार्यकक्षसंगै सभापतिको सचिवालय (पिए कक्ष) र कार्यकक्ष भित्र अर्को छुट्टै गोप्य कोठा पनि बनाउन लागिएको छ । 
 
त्यसैगरी ५० जना, १०० जना र ३०० जना अट्नेगरी छुट्टा छुट्टै हलहरु पनि बनाईने भएको छ । सिंगो कार्यालय र हरेक कोठालाई सुचनाप्रविधि मैत्री बनाउने तयारी पनि भईरहेको सांसद श्रेष्ठले जानकारी दिए । केन्द्रीय कार्यालयमा भईरहेको पुर्नसंरचनालाई धेरैले सकारात्मक र स्राहनीय मानेका छन् । 
 
नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्यालले काँग्रेस कार्यालयको पुर्नसंरचनाको विषयमा आफ्नो ट्वीटर ह्याण्डलमा यस्तो लेखेका छन् “वास्तुशास्त्रअनुसार कांग्रेस सभापतिको कार्यकक्ष शेरबहादुर देउवालाई उपयुक्त भएन रे, त्यसैले पार्टी कार्यालयमा तोडफोड र निर्माण हुँदै रैछ !” यसैविषयमा सोधिएको प्रश्नमा सांसद श्रेष्ठले “त्यस्तो त होईन, तर कार्यालयलाई व्यवस्थीत र प्रभावकारी बनाउने सिलशिलामा ति कुराहरु पनि सामान्य रुपमा पर्न सक्दछन्” भने ।  
 
काँग्रेस सभापति देउवालाई पहिले देखि नै धर्म, वास्तु र ज्योतिष शास्त्रमा बढी विश्वास गर्ने नेताका रुपमा चिनिन्छ । 
 
सभापति देउवाले वास्तु र ज्योतिषीय दृष्टीकोणबाट कार्यालयको पुर्नसंरचना गरेपछि कर्मचारीहरुको पनि फेरबदल गर्ने तयारी गरेको श्रोतले जनाएको छ । तत्कालिन पार्टी सभापति सुशील कोईरालाद्धारा नियुक्त मुख्य सचिव ऋषीकेश तिवारी सहितका कर्मचारीहरुको फेरबदलका बारेमा मानसिकता बनाउदै गरेको देउवा निकट श्रोतले दावी गरेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ