काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटमाथि छलफल शुरु गरेका छन्।
मन्त्री नेम्वाङले आव २०७७-७८ का नीति तथा कार्यक्रम र बजेटसम्बन्धी पूर्वमन्त्री, प्रतिनिधसभाका सांसद र प्रदेश सदस्यहरुसँग छलफल शुरु गरेका हुन्। उनले कोभिड–१९ सङ्क्रमणको त्रास भएकाले मन्त्रालयमा सामाजिक दुरी कायम गर्दै छलफल शुरु गरेका हुन्।
मन्त्री नेम्वाङले बुधबार र आज दुवै दिन छलफल गरेका थिए।उनले बुधबार प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका सांसदसँग छलफल गरेका थिए। आज उहाँले प्रदेश नं १, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गरेका हुन्।
छलफलमा सहभागी सांसदहरुले कोरोनाको कहरबीच आउन लागेको बजेटमा भौतिक पूर्वाधारका क्षेत्रलाई कसरी प्रभावकारी रुपमा समेट्ने लगायतका विषयमा सुझाव राखेका थिए। उनीहरुले राष्ट्रिय गौरबका आयोजनालाई प्राथमिकता दिइनुपर्ने बताएको मन्त्रालयले जनाएको छ।