arrow

प्रदीपको निधनले एमाले मर्माहित

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीले प्रगतिशील साहित्यकार, जनसांस्कृतिक अभियानकर्मी एवम् नेपाली कम्युनिस्ट आन्दोलनका परिपक्व योद्धा रामप्रसाद प्रदीप’को शुक्रबार साँझ हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गरेको छ । 
 
उनको निधनबाट नेपाली समाजले प्रतिबद्ध सांस्कृतिक योद्धा र एमालेले असल कार्यकर्ता गुमाउनुपरेको पार्टी केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले आज शोक वक्तव्य जारी गरी जनाएका छन् । विसं २००४ साउन १ गते पिता होमनाथ तथा माता हरिकला पौडेलका कान्छा सुपुत्रका रुपमा पोखराथोक गाविस रयाले, अर्घाखाँचीमा जन्मिएका प्रदीपले नेपालको सांस्कृतिक रुपान्तरण र राष्ट्रिय जनसंकृति निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको तथा मोदनाथ प्रश्रित, जीवराज आश्रित, बुद्धिबहादुर थकालीसँग मिलेर स्थापना गरेको  ‘रेलिमाई सांस्कृतिक अभियान’ले बीसको दशकमा सामन्ती संस्कृति र निरङ्कुश शासनविरुद्ध नयाँ हलचल उत्पन्न गरेको जनाइएको छ । 
 
‘नबिर्स नेपाली हो खोला सुसाएको देश, पराई घरको फूलबारीभन्दा आफ्नै पखेरा बेस’ जस्ता कालजयी गीतका स्रष्टा उनका ‘मुलुकभित्र’ नाटक, ‘विस्फोटन’ कवितासङ्ग्रहलगायत कृति प्रकाशित छन् । विसं २०२६ मा नेकपाको सदस्यता प्राप्त गरेका  प्रदीपले आफ्नो राजनीतिक र सांस्कृतिक प्रतिबद्धताका कारण पटक पटक तत्कालीन प्रशासनको धरपकड र यातनाको सामना गर्नुपरेको थियो । लामो समयसम्म पत्रकारितासँग आबद्ध प्रदिप राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (तत्कालीन राजसाँमञ्च) को संस्थापक केन्द्रीय सदस्य र हाल सल्लाहकार थिए । 
 
उनले प्रगतिशील लेखक सङ्घको कावा अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनी पार्टीको केन्द्रीय सांस्कृतिक विभागको सदस्यका रुपमा क्रियाशील थिए । दुई पटक जनक शिक्षा सामग्री केन्द्रको महाप्रबन्धकको जिम्मेवारी सम्हालेका रामप्रसाद   कुशल व्यवस्थापक समेत हुन् ।  एमाले केन्द्रीय कमिटीले स्व प्रदीपप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।  रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ