काठमाडौ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेपाली जनताले अब राजनीतिक कुरा सुन्न नचाहने भएकोले नेताहरुले राजनीतिक कुरा गरेर समय खेल फाल्न नहुने तर्क गरेकाछन्।
मातृ सेवा प्रतिष्ठान नेपालको आर्थिक सौजन्यतामा गोरखा मिलन समाज पोखराद्धारा सञ्चालित डा. शान्ति पाण्डे स्मृत्ति छात्रबृत्ति वितरण समारोहको उद्घाटन गर्दै नेता नेपालले अब मुलुकको आर्थिक समृद्धिको कुरा गर्नु पर्ने बताए।
उनले आर्थिक र सामाजिक क्रान्तिलाई सँगसँगै अगाडि लैजानु पर्ने आवश्यकतामा जोड दिदै आर्थिक समृतिकोलागि राजनीति स्थायीत्व कायम गर्न तर्फ लाग्न सबैलाई आब्हान गरे।
छात्रबृत्तिमै वर्षमा झण्डै ५० लाख रुपैया वितरण गर्ने हरिप्रसाद पाण्डे जस्तो निष्ठावान समाजसेवी आफूले कतै नदेखेको उल्लेख गर्दै पाण्डेको समाजसेवा ईतिहासमा इंगित हुने विश्वास ब्यक्त गरे।
नेपालले पाण्डेको जलस्रोत तथा उर्जा मन्त्रालय सञ्चालनको सुखद अनुभव सुनाउँदै उहाँजस्तै निस्वार्थ काम गर्ने मानिसको मुलुकलाई अहिले पनि आवश्यकता रहेको बताए।
अग्रज समाजसेवी हरिप्रसाद पाण्डे र तुलसा पाण्डेले आफ्नी छोरी स्वर्गिय डा. शान्ति पाण्डेको स्मृत्तिमा २०६६ सालदेखि वितरण गर्न थालेको छात्रबृत्ति यसवर्ष ४८ जिल्लाका १३१ विद्यार्थीलाई जनही ५० हजारको दरले ४४ लाख ५० हजार रुपैया वितरण गरिएको थियो। सो छात्रबृत्ति नसिंङ र प्यारामेडिकल अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ।
कार्यक्रममा गोरखा मिलन समाज पोखराका अध्यक्ष सूर्य क्षेत्री, मातृ सेवा प्रतिष्ठान नेपालका अध्यक्ष हरिप्रसाद पाण्डे र उपाध्यक्ष श्रीमति तुलसा पाण्डेले आफ्नो समाजसेवाको कार्यको विषयमा प्रकाश पार्दै समाजसेवाले आफूहरु खुसी हुने गरेको अनुभव सुनाएका थिए।