रामपुर। बन्दाबन्दीको समय सदुपयोग गर्दै पाल्पा, निस्दी गाउँपालिका–४ लामेदमारका कृषक सूर्यमुखी फूल टिप्न व्यस्त छन्। अन्यत्र निस्कने अवस्था नभएपछि खेतमा लगाइएका सूर्यमुखीका फूल टिप्ने र घरमा सुकाउने कार्यमा यहाँका कृषकको दिनचर्या बित्ने गरेको छ। यहाँ करीब ६० घरका कृषकले व्यावसायिक तवरले यसको खेती शुरु गरेका छन्।
समूहमार्फत ६० घरधुरीका कृषकले १५२ रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाएको लामेदमार सूर्यमुखी पकेट क्षेत्रका अध्यक्ष केशबहादुर आले बताउछन्। “अहिले कृषकलाई खेतमा जाने फूल टिप्ने, घरमा ल्याएर सुकाउने र भण्डारण गर्दैमा ठीक्क छ,” अध्यक्ष आलेले भने।
खेतमा ढकमक्क फूलेका फूल टिपेर घरमा ल्याउँदा निकै आनन्द लाग्ने गरेको कृषक धनबहादुर खाम्चाले बताए। परीक्षणका रुपमा दुई रोपनी खेतमा लगाइएको सूर्यमुखी राम्रो भएपछि अर्को वर्ष पनि लगाउने उनी बताउछन्।
गाउँपालिकाले सूर्यमुखी मुख्य क्षेत्र विस्तार गर्न बीउ तथा मल व्यवस्थापनका लागि रु दुई लाख सहयोग गरेको कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिए। “पहिलो पटक लगाइएको सूर्यमुखी खेतीले सोचेभन्दा राम्रो उत्पादन भएपछि व्यवसायमा कृषकको आकर्षण बढ्दो छ, कृषक लकडाउनको समय सामाजिक दूरी कायम गरी खेती स्याहार्न व्यस्त छन्”, उनले भने।
गत वर्ष मुढाबास क्षेत्रमा पनि करबि १५० रोपनी क्षेत्रफलमा समूहमा सूर्यमुखी खेती गरिएको थियो। जिल्लामा हाल निस्दी र बगनासकाली गाउँपालिकामा व्यावसायिक फूल खेती गरिएको छ। साथै रामपुर र तानसेन नगरपालिकाको माडी क्षेत्र पनि सूर्यमुखी खेतीका लागि सम्भाव्य क्षेत्र रहुन्। बगनासकालीले सूर्यमुखी खेतीलाई व्यावसायीकरण गर्नका लागि आर्थिक वर्ष २ं०७६-०७७ को बवेटमार्फत निःशुल्क बीउ वितरण गरेको छ। मौरी चरन क्षेत्र विस्तार गर्ने र कृषकलाई सूर्यमुखी खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बीउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिए। उनका अनुसार गाउँपालिकाभित्र हाल ९६ रोपनी क्षेत्रफलमा सूर्यमुखी खेती गरिएको छ।
वडा नं २, ८, ९ मा सूर्यमुखीको खेती तुलनात्मक रुपमा बढी भए पनि अन्य वडामा पनि यसको खेती गरिँदै आएको छ। हाल व्यावसायिक तरिकाले यसको खेती गर्ने कृषकलाई भने थप व्यावसायीकरण गर्दै अगाडि बढाउने योजना गाउँपालिकाको छ। ठूलो क्षेत्रमा खेती गरेका खण्डमा यसको बजार राम्रो छ। नगदेबालीका सूर्यमुखीको व्यावसायीकरणका लागि जिल्लामा माग नआएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन्।
कुनै समय घर आँगन वरिपरि र करेसाबारीमा शोखका रुपमा लगाइने गरे पनि पछिल्लो समय भने कृषकले व्यावसायिक रुपमा यसको खेती शुरु गरेका छन्। मौरी चरनका लागि सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारण कृषकले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन्।
एक बालीबाट तेब्बर बाली उत्पादन लिन सकिने हुँदा यस खेतीतर्फ कृषकको आकर्षण बढेको छ। फूलको बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका रुपमा प्रयोग गर्न सकिन्छ । सूर्यमुखी बाह्रै महिना फुलाउन सकिन्छ।