arrow

कोरोना पछिको चुनौतीलाई उद्यमशीलताले जितौं

जमिनको सदुपयोग गर्दै उत्पादन बढाऔं

logo
पूर्णीमा पन्थी घिमिरे,
प्रकाशित २०७७ वैशाख २० शनिबार
agriculture-nepal.jpg

विश्वभरी महामारीको रुपमा फैलिएको नोवल कोरोना विरुद्धको लकडाउनलाई सदुपयोग गरी डा.प्रदिपमान तुलाचनद्वारा लिखित युवा उद्यमशीलता भन्ने पुस्तक पढे । कोरोनाले उन्पन्न गरेको कठिन परिस्थितिको सामना गर्न हामीले हाम्रो उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नै पर्ने हुन्छ । कृषि, पर्यटन, जलविद्युत, प्रविधि हाम्रा संभावना हुन् । यसमा कोरोनाले सबै भन्दा बढी प्रभाव पारेको क्षेत्र पर्यटन हो । यसले विदेशमा रोजगारीमा गएका व्यक्तिहरुलाई पनि ठूलो प्रभाव पारेको छ ।

हाम्रो कूल जनसंख्याको करिव ४० प्रतिशत युवा छन् । बाँकी ६० प्रतिशत बालवालिका र बृद्धवृद्धा छन् । सबैको विकास र उन्नतीको चाहना युवा शक्तिमा निर्भर रहन्छ । युवा देशका मेरुदण्ड हुन् । मेरुदण्ड बिना जसरी उभिन सकिदैन त्यसरी नै युवा उद्यमशीलता विना देश विकासको कल्पना गर्न सकिदैन ।

श्रम भन्नाले जिविकोपार्जन गर्ने माध्यम भनेर बुझिए पनि त्यो उद्यमशीलता हो । उद्यमशीलता एउटा विचार हो । यो प्रकृतिले दिएको उत्कृष्टता पनि हो । जसको सही र बुद्धिमानि पूर्वक प्रयोग गरे मानव जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।

अहिलेको अवस्थामा अधिकांश युवाहरु रोजगारीको खोजीमा विदेशमा भौतारिएका छन् । जसले जीवनको उर्जाशील समय यसै विताइरहेका छन् । पढेलेखेका युवाहरु समेत विदेशी ग्रीनकार्ड र पीआर प्राप्त गर्न लालायित देखिन्छन् । अबको केही वर्ष भने यो प्रसङ्ग असान्दर्भिक जस्तै बन्ने देखिन्छ ।

नेपालमा सरकारी जागीर खाइरहेका युवाहरु पनि जागीरबाट आउने रकमले आफ्नो बालबच्चालाई राम्रो शिक्षादिक्षा दिन नपुग्ने र आफ्नो मिहिनेत अनुसारको सुख सुविधा उपभोग गर्न नपाएकोले विदेशीन पुगेका पनि छन् । त्यसैगरी कोही आफ्नो घर परिवारको जीविको पार्जनका लागि विदेशी भूमिमा परिश्रम गरिरहेका छन् । नेपालको औद्योगीक क्षेत्रको खस्कदो अवस्थाले गर्दा युवाहरु बेरोजगार छन् । अहिले केरोनाको प्रभावले गर्दा विदेशमा रहेका युवाहरु आफ्नै  देश आउने परिस्थिति बनेको छ । यो जनशक्तिलाई काम दिने जिम्मा सरकारको हो । कोरोना प्रभावबाट पीडामा परेको नेपालीलाई नयाँ अवसर दिन सरकारले नीति बनाओस् ।

व्यक्ति उद्यमी हुन सर्वप्रथम म सक्छु म गर्छु भन्ने हिम्मत र आँट उसमा हुनुपर्छ । त्यसैगरी सकारात्मक सोच, इच्छा शक्ति र दृढ संकल्प हुनुपर्छ । कुनै पनि कामलाई सानो ठूलो ठान्नु हुँदैन । श्रमको महत्व सबैले बुझ्नु पर्दछ । अवसरहरुको खोजी गर्नु आवश्यक छ । नेपालमा उद्यमशीलता विकासको सम्भावना भएको क्षेत्र कृषि हो । यसलाई प्रविधि मैत्री बनाउन पर्दछ । कतिपय युवाहरु कुखुरा, गाई, भैसी फार्म संचालन गरी सफल व्यवसायी भइरहेका छन् । अर्गानीक कृषी उत्पादन र कृषी पर्यटनको पनि प्रशस्त संभावना छ । के कस्तो क्षेत्रमा लगानि र मिहिनेत गरेमा के कस्ता प्रतिफल पाउन सकिन्छ भन्ने दृष्टिकोण सरकारले दिएर उद्यम व्यवसाय सुरु गर्न लगाउनु पर्दछ ।

आफ्नै वातावरण र परिवेशमा आफ्नै जंगल, जमिन र जनशक्ति सुहाउदो हिसावबाट हामी परिचालित हुनुपर्दछ । नेपालीको हिमाली क्षेत्र जडिबुटी र पशुपालनको दृष्टिकोणले प्रशस्त संभावना भएको क्षेत्र हो । पहाडी क्षेत्र फलफुल बेमौसमी तरकारी उत्पादनको लागि उपयुक्त छ । त्यसैगरी तराई अन्न उत्पादनका लागि सहज क्षेत्र हो । यसबाट उत्पादिन वस्तुहरु विश्व बजारसँग जोडेर विशेष मूल्यमा विक्रि वितरण गर्न सकिन्छ । कृषिजन्य उत्पादनमा आधारित विभिन्न प्रदेशमा साना र मझौला उद्यम व्यवसायहरु संचालन गर्न सकिन्छ । यसकालागि बजेट नेपाल सरकारले व्यवस्था गर्नुपर्दछ ।

उद्यम, व्यवसाय सुरु गर्न त्यसबारे आवश्यक ज्ञान, सीप र दक्षता हासिल हुनु पर्छ । यसले उद्यम संचालनमा रहेका जोखिम कम गर्नुका साथै समय पनि धेरै बचत गराउँछ । आवश्यक पूजीँको व्यवस्थापन र पूर्वाधार तयार भइसकेपछि त्यस उद्यम सम्बन्धी विशेष प्रशिक्षण लिनु आवश्यक हुन्छ । उद्यम सुरु गर्नुभन्दा अगाडि राम्रो योजना बनाउनु पर्छ ।

उद्यम सुरु भएपछि ध्यान दिनुपर्ने विशेष कुरा उत्कृष्ट विक्रि कर्ता बन्नु हो । अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफुलाई सफल विक्रिकर्ता बनाउन सक्नु नै सफल उद्यमी हुनु हो । उद्यम व्यवसायलाई स्थायित्व दिन र नाफा मूलक बनाउनका आफ्नो उत्पादन तथा सेवाको गुणस्तर कायम गर्न जरुरी हुन्छ । आफुले उत्पादीत गरेको वस्तुहरुको सेवा छिटो छरितो रुपमा आपूर्ति गर्न सक्नु पर्छ । बजारमा पकड जमाएर उपभोत्ताको मन जित्न सक्नु पर्छ । त्यसैगरी आफ्नो व्यवसायमा लागत खर्च कसरी घटाउन सकिन्छ र उत्पादन कसरी बढाउन सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्दछ । सरकारले यस्ता उद्यमीलाई सोझै आर्थिक सहयोग गर्ने प्रबन्ध अहिलेको अवस्थामा गर्नुपर्दछ ।

नेपालमा युवा उद्यमशीलताका विद्यमान चुनौतीहरु पनि छन् । समग्र देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक छ । राजनीतिक अस्थिरताका कारण सरकारले प्रस्तुत गरेका नीति नियमहरु सही रुपमा कार्यान्वयन हुन पाउदैनन् । युवालाई सीप सिकाउने उद्यमशीलता विकास गर्ने, सोरोजगार बनाउने आदि सरकारले पटक पटक घोषणा गरेका कार्यक्रम राजनीतिक अस्थिरताको सिकार भएका छन् ।

उद्यमशीलताको लागि प्रचुर मात्रामा श्रोत र साधनहरुको आवश्यकता पर्दछ । जसलाई उद्यमको  आवश्यकता छैन त्यस्तो वर्गको कब्जामा असिमित श्रोत र साधन छ । गरिखाने वर्गको स्वामित्वमा अत्यन्त न्यून श्रोत साधन छ । साधनको असमान वितरणल उद्यम विकासको अर्को चुनौती हो । उद्यमका लागि आवश्यक पूर्वाधारको अभाव छ । फलस्वरुप अधिकांश उद्योगहरु प्रायः बन्द भइसकेका छन् भने कपितय बन्द हुने क्रममा छन् । त्यसैगरी युवा वर्गहरुमा गुणस्तरीय एवं प्राविधिक शिक्षा व्यावासायिक सीपको अभाव पनि अहिलेको अवस्थामा अझ बढी टड्कारो देखिन्छ ।

युवालाई उद्यमी र स्वरोजगार बनाउन सरकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । युवाको रोजाइका व्यवसाय संचालन गर्न सरकारले उपयुक्त तालिमको व्यवस्था गर्नु पर्दछ । जसले उनीहरुको ज्ञान, सीप र दक्षता बढाउन मद्दत गर्दछ । लगानीको सहज अवस्था, सरल नीति र उपयुक्त तालिमको व्यवस्था सरकारले प्रदान गर्नुपर्दछ । यसले हाम्रो देशका अधिकांश युवाहरु उद्यमी र स्वरोजगार हुनेछन् । जसले गर्दा जागिरे मनोविज्ञानलाई कम गराउछ । विदेशीने मनस्थितिमा परिवर्तन ल्याउछ । युवालाई स्वदेशमा उद्यम गर्ने आकर्षण बढाउछ ।

उद्योग व्यवसाय संचालन गर्न आवश्यक परामर्श दिने, उत्प्रेरित गर्ने र अगाडिको बाटो सरल गराउन सरकारले आवश्यक वातावरण बनाइदिनु पर्छ । त्यो अवस्थामा युवाहरु स्वयंमले कतिपय अवसरहरु खोज्न सक्छन् । कतिपय सरकारले खोजिदिन सक्छ । यि दुबै परिस्थितिले युवालाई उद्यमशीलतामा लाग्ने वातावरण तयार हुन्छ । राज्यको तर्फबाट तयार गरिएका नीतिको व्यवहारिक कार्यान्वयन हुनुपर्छ । प्राविधिक शिक्षामा सबै युवाको पहुच स्थापित गराई बेरोजगार युवालाई कृषिसीप मूलक तालिमको व्यवस्था गर्नुपर्दछ ।

आजको विसौं शताब्दीको युग भनेको सृजनाशीलताको युग हो । संशारमा भएका ठूला र प्रख्यात परिवर्तनहरु धेरै पैसा खर्च गरेर भएका होइनन् । अहिले हामीलाई संसारसँग जोड्ने माइक्रोसफ्ट, फेसबुक, गुगल, टुइटर आदि थोरै मानिसले लगनशीलताका साथ रातदिन अध्ययन, अनुसन्धान गरेर आविश्कार भएका हुन् । अहिले ति अविश्कारले उत्पादित कम्पनीहरु खरबौं डलरका छन् । त्यसैले अवसरहरु भनेको श्रृजना गर्नु पनि हो ।

विश्वको अग्रगतीमा रहेका चीन, जापान, अमेरिका जस्ता मुलुकहरु उद्यमशीलताकै कारण यो स्थितिमा आइपुगेका हुन् । विविधता युक्त हाम्रो देश अनेक सम्भावनाको खानी हो । स्रोतको उचित परिचालन गरी कर्मगरे आफ्नै आगनमा सुन पनि फलाउन सकिन्छ । देशले के दियो भनेर प्रश्नमात्र नगरौं मैले देशका लागि के गरे ! भनेर सबैले आफैलाई आफैले सोधौं ? सबैले के बुझ्न जरुरी छ भने आउदै गरेको बेरोजगारी समस्याको विकल्प यहि कठिनाइका विचमा हामीले खोज्नु पर्छ । अहिले कोरोनाको त्रासले हामी घरमा लकडाउनमा छौं । जुनदिन लकडाउनको अन्त्य हुन्छ, त्यहि दिनबाट उत्पादन बढाउने योजना आजै बनाउनु पर्छ । यस कामका लागि सरकार सबैको सहयोगी हुनुपर्दछ ।

हामीसँग केही कुराको कमि छैन । केवल उद्यमशील सोचको खाँचो छ । अर्को महत्वपूर्ण कुरा श्रृजनशील, उद्यमशील, सीपयुक्त र जिम्मेवार हामी हुनैपर्छ । जनतालाई अवसर प्रदान गर्ने दायित्व सरकारको हो । त्यसैगरी प्राप्त अवसरबाट नयाँ नयाँ खोज र अनुसन्धान गर्ने उद्यमशीलतालाई निरन्तरता दिने जिम्मेवारी युवा वर्गको हो । हामीसँग रहेको जमिनको सदुपयोग गर्दै उत्पादन बढाऔं । विश्वमा आउनसक्ने भोकमारीबाट नेपाललाई जोगाऔं । यसको सही उपाय भनेको सबैले आआफ्नो ठाउँबाट सकेको काम गरौं । कोरोना पछिको चुनौतीलाई उद्यमशीलताले जितौं ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ