पाकिस्तानमा लकडाउनको अवधि फेरि थपियो, मे ३१ सम्म लागु हुने
एएनआई,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
466
Shares
इस्लामावाद। पाकिस्तानमा लागु हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ। सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था पनि गरिएको छ। सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई खुकुलो बनाइएको सरकारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
सूचनाका अनुसार अत्यावश्यक सेवाका पसलहरु हप्तामा पाँच दिन विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खेल्न दिइने भएको छ। पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनु परेको सरकारी अधिकारीहरुको भनाई छ। उनीहरुका अनुसार देशभरी गरेर अहिलेसम्म २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९९१ जना नयाँ विरामी थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको जानकारी दिएको छ । पाकिस्तानमा अहिलेसम्म कुल मृतकको संख्या ६३९ पुगेको छ। कोरोनाभाइरसका कारण विरामी भएका मध्ये आठ हजार २३ जनालाई भने निको भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।