चीनको वुहानमा एक महिनापछि फेरि कोभिड–१९ को सङ्क्रमण
एएफपी,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
889
Shares
बेइजिङ। विश्वव्यापी महामारीको रूप लिन पुगेको कोरोनाभाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि पहिलो सङ्क्रमित व्यक्ति भेटिएका छन्। उनी शनिबार अस्पतालमा पुगेका बताइएको छ। वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ सङ्क्रमित देखिएका थिएनन्। विश्वमै पहिलो कोरोना भाइरस सङ्क्रमितका रुपमा गत डिसेम्बरमा वुहानमा विरामीहरू भेटिएका थिए।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभर १४ जना नयाँ सङ्क्रमित भेटिएका छन्। चीनमा अप्रिल २८ तारिखयता एकै दिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो। चीनमा शुक्रबार एक जना मात्र नयाँ संक्रमित भेटिएका थिए । शनिबार सङ्क्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन्।
आयोगले सुलान शहरमा बुधबार सङ्क्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा सङ्क्रमण फैलिएको जनाएको छ। सङ्क्रमित सबैमा कोरोना भाइरस सङ्क्रमणका कुनै लक्षण नदेखिएको आयोगले बताएको छ।
चीनमा आइतबारसम्म ८२ हजार ९०१ जना सङ्क्रमित भएका छन्। तीमध्ये चार हजार ६३३ जनाको ज्यान गएको छ भने ७८ हजार १२० व्यक्ति उपचारपछि घर फर्किएका छन्। चीनमा छिटपुट घटनाबाहेक सङ्क्रमितको सङ्ख्यामा नियन्त्रण देखिएको छ।