arrow

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण निर्धारित समयमै नबन्ने, कामदार र निर्माण सामग्री अभाव

logo
हरि पन्त,
प्रकाशित २०७७ वैशाख २९ सोमबार
pokhara-airport-under-construction.jpg

पोखरा। राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमा सम्पन्न नहुने भएको छ। विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइसका कारण विमानस्थल निर्माण कार्य प्रभावित हुने भएको हो। नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा काम नरोक्न निर्देशन दिए पनि विमानस्थल निर्माण कार्यमा भने प्रभाव परेको छ।

विमानस्थल निर्माणको काम अहिलेसम्म ५७ प्रतिशत सकिएको छ। आगामी २०२१ जुलाईसम्मा विमानस्थल निर्माण कार्य सक्ने लक्ष्य भए पनि निर्माण सामग्री र कामदार अभावका कारण निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो। हाल फैलिएको कोरोना भाइरसले गर्दा नेपाल र भारत सरकारले लगाएको लकडाउनका कारण विमानस्थल निर्माण कार्यमा धक्का लागेको हो।

विमानस्थल निर्माण आयोजना प्रमुख ईन्जिनियर विनेश मुनंकर्मीले विमानस्थलको निर्माण सामग्रीहरू केरुङ र कलकत्ता बन्दरगाहामा रोकिएको र अधिकांश कामदारहरू काम छोडेर घर गएका कारण निर्माण कार्यमा असर परेको बताए।

अहिलेसम्म विमानस्थलमा जहाज पार्किङ, धावनमार्ग (रनवे), ट्याक्सी वे निर्माण कार्यपूर्णरुपमा सकिएको र टर्मिनल भवन, एटीसी टावर, कार्गो भवन, ह्याङ्गर, फायर फाइटिङ लगायतका भवनहरू निर्माणाधिन अवस्थामा रहेको र अन्तिम चरणमा पुगेको आयोजना प्रमुख मुनंकर्मीले जानकारी दिए।

विमानस्थल निर्माण आयोजनाका इन्जिनियर मीनराज ओझाका अनुसार कतिपय चाइनिज कामदार चीनमै रोकिएको, केही नेपाली कामदारले काम छोडेर घर गएको र प्रर्याप्त निर्माण समग्री नभएकाले लक्ष्य अनुसार काम हुन सकेको छैन।

२५ सय मिटर लामो र ४५ मिटर चौडाई रहेको धावनमार्ग नेपालकै पृथक शैलीको धावनमार्ग हो। यस विमानस्थलमा जुनसुकै क्षमताका वाइडवढी जहाज ल्याण्ड गर्न सकिने भए पनि यहाँको भौगोलिक धरातलका कारणले बोइङ ७.७ र एयर बस ३२० क्षमताका जहाजमात्र ल्याण्ड गर्न सकिनेछ।

३७ सय रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलका लागि अझै केही जग्गा अपुग भएर दक्षिण र पश्चिम क्षेत्रमा आइएलएसका लागि १०४ रोपनी जग्गा विमानस्थलले अधिग्रहण गरेको छ। हाल विमानस्थल भित्रै रहेका ८५ जना नेपाली र २५० जना चाइनिज कामदारले मात्र काम गरिरहेका छन्।

चाइनाको सिएमसी कम्पनीले निर्माणको जिम्मेवारी पाएको विमानस्थलको सम्झौता २०१७ जुलाई ११ मा भएको थियो भने निर्माण कार्य २०१७ नोभेम्वर ११ बाट शुरु भएको थियो। आयोजना निर्माण शुरु भएको छोटो समयमै उल्लेख्य काम भएको विमानस्थलमा सन् २०२० को अन्त्यसम्ममा सबै काम सम्पन्न गरी २०२१ को जुलाईसम्ममा अन्तर्राष्ट्रिय जहाज पोखरामा ल्याण्ड गर्ने लक्ष्य निर्माण कम्पनीको थियो।

पर्यटकीय राजधानी पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा धक्का लाग्ने पक्कापक्की छ। यसले पर्यटन व्यवसायीलाई थप मार पर्ने देखिन्छ। साथै विमानस्थल समयमै सञ्चालनमा आउला र केही राहतको स्वास फेरौंला भन्ने पर्यटन व्यवसायीको सपनामा तुषारापात लाग्ने निश्चित छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ