arrow

‘एसएलसी पास’ पत्रकार बन्न नपाउने

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
fnj-new.jpg.jpeg
चितवन। नेपाल पत्रकार महासङ्घले एसएलसी मात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ । मङ्गलबारदेखि चितवनको रत्ननगरमा हुन लागेकोे विधान सभामा उक्त संशोधन प्रस्ताव पेस गर्न लागिएको पत्रकार महासङ्घले जनाएको छ । महासङ्घले सभासद्लाई अध्ययनका लागि दिएको उक्त विधान संशोधनको प्रस्तावमा पत्रकार बन्नलाई अब कम्तीमा पनि उच्च माध्यमिक तह वा सो सरहको पढाइ हुनुपर्ने प्रावधान राखिएको छ । 
 
यसअघिको विधानमा एसएलसी गरेर मापदण्ड पुगेका पत्रकार बन्न पाउने प्रावधान थियो । पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासङ्घका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिए ।  महासङ्घको कात्तिक २७ को बैठकले विधान संशोधन गर्ने निर्णय गरेअनुरुप फागुन १९ मा सभासद् र सदस्यबाट आएको सुझाव समेटेर चैत १५ मा उक्त प्रस्ताव पारित गरिएको हो । 
 
यस वर्ष पेसा र भौतिक सुरक्षालाई प्राथमिकता दिंँदै पत्रकार तथा आमसञ्चारमाध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने भन्ने बुँदा थप गरिएको छ । प्रस्तावमा कार्यकारिणी सभालाई केन्द्रीय सभा बनाउने, सभासद्लाई केन्द्रीय सभासद् र प्रदेश सभा नयाँ थप्ने प्रस्ताव ल्याइएको छ । भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ । 
 
यसमा सातवटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पुर्‍याउने योजना छ । यस्तै केन्द्रीय सभामा चयन हुने सभासद् यसअघि १० बराबर १ रहेकामा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ । यसैबीच, महासङ्घको साधारणसभाका लागि केन्द्रीय समितिको टोली आइतबार साँझ रत्ननगर आइपुगेको छ । साधारणसभामा एक हजार ६५१ सदस्य सहभागी हुनेछन् ।
 
हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने महासङ्घले जनाएको छ । स्थानीय तहको तयारी लगभग पूरा भएको चितवन शाखाका अध्यक्ष हरि पोखरेलले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ