arrow

किस्ताको रकम वितरण, ६ जिल्लामा कसले कति पाए (जिल्लागत विवरण)

logo
प्रकाशित २०७३ वैशाख २० सोमबार
reconstruction-authority.jpeg.jpeg
काठमाडौं। सरकारले भूकम्प प्रभावित जिल्लाहरूमा निजी आवास निर्माणको लागि भनेर पठाएको पहिलो किस्ताको रकम वितरणको काम धमाधम चलिरहेको सम्बन्धित जिल्ला विकास समितिको कार्यालयहरूले जनाएका छन्। पुनर्निर्माण प्राधिकरणले स्थानीय विकास मन्त्रालयमा मार्फत् सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा पठाउने र जिल्ला विकास समितिको कार्यालयले सम्बन्धित गाविसको नजिक रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका शाखा मार्फत् वितरण गर्न लागेको रकम मध्ये सिन्धुली र ओखलढुङ्गा जिल्ला बाहेक अन्य जिल्लामा धमाधम पैसा बाँड्ने काम भईरहेको सम्बन्धित जिल्ला विकास समितिको कार्यालयहरूले जनाएका छन् । 
 
जिल्ला विकास समितिलाई प्राप्त अख्तियारी रकममा गाविसले भूकम्पपीडितसँग सम्झौता गरी पठाएको सिफारिस अनुसार जिल्ला विकास समितिले रकम दिनको लागि कोष तथा लेखा नियन्त्रण कार्यालय(कोलेनिका)लाई लेखि पठाउँछ भने कोलेनिकाले सो रकम निकासा गरेपछि सम्बन्धित बैंकमा पैसा पुग्दछ। यसरी बैंकमा जम्मा भएको पैसा बैंकले भूकम्पपीडितले खोलेको खातामा सीधै पठाईदिने गरेका छन्। त्यसैले भूकम्पपीडितसँग गाविसले गरेको सम्झौता नै भूकम्पपीडितको पैसा पाउने मुख्य आधार हुने गर्दछ। त्यसैले तल उल्लेखित जिल्लाहरूमा गाविसले सम्झौता गरेर बैंक खाता खोलिसकेका तथा बैंक खाता खोल्ने प्रक्रियामा रहेकाको विवरणलाई पैसा पाएको विवरणको रूपमा उल्लेख गरिएको छ। 
 
१. गोरखा जिल्ला 
गोरखा जिल्लाको हंशपुर गाविसमा प्राधिकरणले नाम सार्वजनिक गरेको कूल सात सय ५८ जना भूकम्पपीडित मध्ये राष्ट्रिय वाणिज्य बैंक भच्चेक शाखामा उनीहरूको लागि तीन करोड ८२ लाख रकम निकासा भईसकेको छ। त्यहाँका सबैजनासँग गाविसले सम्झौता गरिसकेको र बैंक खाता खोल्ने काम पनि अन्तिम चरणमा पुगेकोले त्यहाँ सबै जनाले पहिलो किस्ताको रकम पाईसकेको स्थानीय विकास अधिकारी नारायण आचार्यले जानकारी दिए। त्यस्तै गरी गोरखाको लाप्राक गाविसको गुप्सीपाखा गाउँमा झण्डै ६ सय घर बनाउने विषयमा गैर आवाशीय नेपाली महासंघ एनआरएनले आवास निर्माणको लागि सहमति मागेकोमा नेपाल सरकार मसन्त्रपरिषद्को २०७२ साल पौस २८ गतेको निर्णयले झण्डै ६ सय घर निर्माण गर्ने सहमति अनुरूप केही समय अगाडि राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गरेकोले सरकारले ती ६ सय परिवारको लागि पहिलो किस्ताको रकम वितरण नगर्ने आचार्यले जानकारी दिए। 
 
त्यस्तै, बारपाक गाविसको कूल १२ सय ५३ घरमध्ये ८०० घरसँग सम्झौता भईसकेको छ भने यिनीहरूको खाताखोल्ने प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ। त्यसपछि तारकेश्वर गाविस र गोरखा नगरपालिकाको १४ र १५ गाविसको एक सय ५२ जनासँग सम्झौता भईसकेको छ। सो गाविसमा कूल नौ सय जनाको नाम भूकम्पपीडितको नाम सार्वजनिक भएको छ। त्यस्तै गोरखाको मुच्चोक गाविसमा झण्डै नौ सय २७ जना, सौरपानीको १५५६ जना र गुुम्ना गाविसको ६६४ जना भूकम्पपीडित रहेकोमा गृहमन्त्रीले सम्झौताको उद्घाटन गर्ने मनसाय देखाएकोले पर्सीदेखि सम्झौता सुरू गर्ने पनि आचार्यले जानकारी दिए। 
 
२. नुवाकोट जिल्ला 
नुवाकोट जिल्लामा भूकम्पपीडितहरू मध्ये ४० वटा गाविसको पूर्ण सूची आईसकेकोमा अहिलेसम्म खरानीटारको २०६ जना, सुन्दरादेबीमा ६ जना, रातमाटेमा एक जना, चारघरेमा एजनासँग गरी कूल २ सय १४ जनासँग मात्रै सम्झौता भएको छ । जबकी प्राधिकरणले सार्वजनिक गरेको सूचीमा खरानीटारमा चार सय आठ जना, सुन्दरादेबीमा ५ सय १५ जना रातमाटे मा आठ सय ९५ जना र चारघरेमा १११४ जनाको नामाबली उल्लेख छ । अहिले प्राविधिक समस्या परेको भन्दै पैसा वितरण गर्ने काम भने सुरू पनि नगरिएको कार्यालयका अधिकृत लाल बहादुर बस्नेतले जानकारी दिए । 
 
३. काभ्रेपलाञ्चोक जिल्ला
काभ्रेपलाञ्चोक जिल्लामा भने थोरै मान्छेसँग मात्रै सम्झौता भएको छ । उत्तः जिल्लामा १९ गतेदेखि सुरूभएकोमा पहिलो दिनमा चौतारा नगरपालिकामा दुईजना कर्थली गाविसमा एकजना तथा भोटेचौर गाविसमा दुईजना गरि कूल पाँच जनासँग मात्रै सम्झौता भएको छ । उनीहरूले पनि बैंकमा खाता खोल्ने प्रक्रिया सुरू भईसकेकोले एकदुई दिनमा नै यिनीहरूलाई पहिलो किस्ताको रकम उपलब्ध गराउने पनि जिल्ला विकास समितिको कार्यालयले जानकारी दिएको छ । 
 
४. धादिङ जिल्ला 
धादिङ जिल्लको मार्पाक गाविसको लागि भएको सम्झौतामा पाँच सय ९९ जनासँग सम्झौता भईसकेको छ। उनीहरूलाई पहिलो किस्ता वापतको रकम उपलब्ध गराउने काम पनि चलिरहेको छ । कूल १००३ जनाको नाम निस्किएकोमा बाँकी घरधनीले भने प्रक्रिया पूरा नगरेकोले सम्झौता हुन नसकेको जिल्ला विकास समितिको कार्यालय धादिङका योजना अधिकृत युवराज अर्यालले जानकारी दिए । उनीहरूले आवश्यक प्रक्रिया पुर्‍याएपछि मात्रै बाँकी काम अगाडि बढाईने पनि उनले जानकारी दिए । 
 
५. सिन्धुली जिल्ला 
सरकारले सिन्धुली जिल्लाको झाँगाझोली गाविसका ११ सय ७८ घर परिवारको लागि पाँच करोड ८९ लाख रूपैयाँ बजेट निकासा भईसकेको छ । तर सो रकम वितरणको लागि सम्बन्धित मन्त्रालयबाट फुकुवा नभएकोले अहिलेसम्म वितरण गर्न नसकिएको जिविस सिन्धुलीले जानकारी दिएको छ । अधिकांशसँग सम्झौताको लागि तयारी अन्तिम चरणमा पुगेको भन्दै रकम फुकुवा हुनेवित्तिकै रकम वितरण सुरू हुने कार्यालयका सहायक लेखापाल रामबाबु कार्कीले जानकारी दिए ।  
 
६. ओखलढुङ्गा जिल्ला
ओखलढुङ्गा जिल्लामा रहेका मात्रै ४७ जनाको लागि सरकारले शुक्रबार मात्रै अख्तियारी दिएकोले अहिले रकम वितरण गर्न नसकेको स्थानीय विकास अधिकारी यज्ञ बहादुर खत्रीले जानकारी दिए। उनले आफूहरू सबै प्रक्रिया सुरू गर्न थालिसकेको भन्दै अबको एक हप्ता भित्र सबै पैसा भूकम्पपीडितको हातमा पुर्‍याउने बाचा पनि गरे। सो रकम ओखलढुङ्गाको रूम्झाटार गाविसको लागि हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ