काठमाडौ । दुबईमा रहेको नेपाली दुतावास र परराष्ट्रमन्त्रालयको लापरवाहीको कारण बैदेशिक रोजगारीमा ज्यान गुमाएका धनकुटाका एक युवकका परिवारले क्षतिपूर्ति पाउन चार वर्ष कुर्नु परेको छ । २०६६ सालमा डीडी ओभरसीजमार्फत दुवईको रोयल कंक्रिट प्रोडक्टमा काम गर्न गएका २०६६ सालमा दुवई गएका धनकुटाका २९ वर्षिय तुलसीप्रसाद चापागाईको २०६९ सालमा मेसिनमा च्यापिएर मृत्यु भएको थियो ।
कम्पनीले २०७० सालमा क्षतिपूर्तिबापतको दुई लाख दिराम रकम त्यहाँको अदालतमा जम्मा गरेकोमा दुतावास र परराष्ट्र मन्त्रालयले बेवास्ता गर्दा पीडित परिवारले लामो संघर्ष र लाखौ रुपैया खर्च गरेपछि मात्रै अहिले आएर पाएका हुन । त्यो पनि सरकारको नभएर एक सामाजिक अभियन्ताको प्रयासमा ।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा मृतकका पिता धनन्जय चापागाईले आफूहरुलाई कम्पनीका मालिक नरान सल्वानीले टेलिफोन गरेर क्षतिपूर्ति बापतको रकम आफूले जम्मा गरिदिएको जानकारी दिएको तर परराष्ट्र मन्त्रालय र दुवई स्थित नेपाली दुतावासमा पटक पटक पहल गर्दा पनि बेवास्ता गर्दा रकम समयमा पाउन नसकेको गुनासो गरे ।
उनले नेपाल सरकारका निकायहरुले आफुहरुलाई अनावश्यक दुख र सास्ती दिएको भन्दै आशा एचफोर फाउण्डेसनकी अध्यक्ष आशा लामाको प्रयासमा आफुहरुले दुई वर्षपछि क्षतिपूर्ति पाएको बताए । दुतावास र परराष्ट्रले बास्त नगरेपछि आफूहरु दुवई जान बाध्य भएको भन्दै आफुहरु दुवई आउँदै गरेको थाँहा पाएपछि आफूहरुको पोल खुल्ने डरले दुतावासले क्षतिपूर्तिको रकम बुझेर पठाएको बताए । उनले करिब साढे ५७ लाख हुने क्षतिपूर्ति रकम पाउन काठमाडौ र दुवई धाउँदा मात्रै आफुहरुको २५ लाख बढी खर्च भएको गुनासो गरे ।
लामाले नेपाल सरकार र दुतावासको लापरवाहीले गर्दा धेरै नेपालीहरुले दुख पाईरहेको बताउँदै आफूले अहिले पनि धेरै त्यस्ता नेपालीहरुको मुद्दा लडिरहेको जानकारी दिइन् । उनले सरकार र दुतावासले गलत नियतले क्षतिपूर्ति लिने प्रक्रिया सुरु नगर्दा यस्तो भएको भन्दै यस्तो पीडामा धेरै नेपाली परिवार रहेको जिकिर गरिन् ।