महामारीमा पनि सरकार ताली खाने र कार्यकर्ता पाल्ने वजेटको तयारीमा छः डा मिनेन्द्र रिजाल
सरकार कुरा गर्न जान्ने काम गर्न नजान्ने
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १ बिहिबार
726
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई कुरा गर्न जान्ने प्रवन्धन गर्न नजान्ने भनि टिप्पणी गरेका गरेका छन्। उनले कोरोनाको महामारीसँग जुध्न संक्रामक रोग ऐनको प्रयोग गलत नियतले गरिएको बताएका छन्। सरकारले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४लाई प्रयोग नगरी सरकारले संक्रामक रोग ऐन २०२० को व्यवस्थाको अपरिभाषित बिषयको गलत परिभाषा लगाउन प्रयोग गरिरहेको रिजालले बताए।
जीपी कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले गरेको संवाद कार्यक्रममा बोल्दै डा रिजालले सरकारमा अझै पनि लकडाउनलाई समस्या समाधानको कोणबाट भन्दा पनि राजनीतिक फाइदामा प्रयोग गर्न खोज्ने प्रवृती रहेको बताए।
भारतमा १० लाखमा ५० र नेपालमा १० लाखमा ४ जनाको मात्र संक्रमण देखिएको दुई दिन अघीको तथ्य राख्दै रिजालले भने, हाम्रोमा सरकारले परिक्षण नै बढाउन नसकेको कारण संक्रमितको संख्या कम देखिएको हुन सक्ने बताए ।
यहि बीचमा भारत र विभिन्न देशबाट नेपाल आउन चाहने नेपालीहरुको व्यवस्था कसरी गर्ने भन्नेमा पनि सरकार चुकिरहेको उनले बताए। रिजालले भने, “सरकारले पनि भारतबाट ३ लाख ५० हजार तेस्रो मुलुकबाट भारतबाट २ लाख ५० हजार नेपाली स्वदेश फर्कन सक्ने अनुमान गरेको छ। तर तिनलाई स्वदेश ल्याउनेदेखि तिनको व्यवस्थापनको सरकारी योजना केहि देखिदैन। सम्वन्धित देशमै पनि राम्रोसँग पहल गरेको छैन। ति देशले पनि फर्काउन खोजेको बेलामा हाम्रा नागरिकलाई के गर्ने हो सरकार त्यसमा काम गरिरहेकै छैन।“
नेपाल आउन चाहेका नेपालीहरुलाई ल्याउन ढीलाई गरेकोमा प्रश्न गर्दै रिजालले भने, “चीनबाट नागरिक ल्याउँदा अरु मुलुकबाट ल्याउन सरकारले पहल गर्नु पर्दैन ? नल्याई नहुने मानिसहरुलाई ल्याउन नेपाल वायु सेवा निगम र अन्य सेवा प्रदायकको विमानहरुलाई किन प्रयोग नगर्ने?”
महामारीको बेलामा विश्वव्यापी रुपमा अथतन्त्र प्रभावित रहेको उल्लेख गर्दै यस्तो बेलामा ल्याइने बजेट फरक ढंगको हुनुपर्ने उनको धारणा थियो। रिजालले भने, “चाहिनेभन्दा ठूलो वजेट ल्यायो भने समस्या हुन्छ। सरकार भने आफ्ना कार्यकर्ता पाल्ने र ताली खाने खालको वजेट मात्र ल्याउन खोजिरहेछ।“
सरकारले महामारी बिरुद्धको लडाइमा कमजोर प्रदर्शन गरेको उल्लेख गर्दै रिजालले संसदले नै संकल्प गरेर यो महामारी बिरुद्ध लड्ने प्रतिबद्धता जनाउनु पर्ने बताए।