arrow

महाधिवेशनमा प्रचण्ड देखेर गच्छदारको दिल खुस, दुवै मिलेर कायपलट गर्ने उद्घोष

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ वैशाख २० सोमबार
dahal,-nepal-&-singh.jpg.jpeg
विराटनगर । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको प्रथम राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु भएको छ । स्थानीय शहीद रंगशालामा फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले महाधिवेशनको उद्घाटन गरे । 
 
उद्घाटन कार्यक्रममा महाधिवेशनको सफलताको शुभकामना दिंदै प्रमुख दलका नेताहरुले मुलुकलाई अग्रगतीमा अघि बढाउन सहमती र राष्ट्रिय एकताको खाँचो रहेकामा जोड दिए ।  कार्यक्रममा बोल्दै एकिकृत माओवाद अध्यक्ष पुष्पकमल दाहालले मुलुकको समस्या समाधान, संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण लगायत मुलुकको आर्थिक समृद्धिमा लैजान राष्ट्रिय राजनीतिमा एकताको खाँचो रहेको बताए । 
 
दाहालले मुलुकलाई निकास दिन नेपाली कांग्रेस र मधेशवादी दलहरु सहमती र  एकताबाट भाग्न नहुने बताए । एमाले नेता माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न, सामाजिक, आर्थिक, साँस्कृतिक रुपमान्तरण गर्न जसरी हिजो राजनैतिक क्रान्ति सफल पार्न, संविधान निर्माण र जारी गर्न सबै राजनैतिक दलहरु एकतावद्ध भएका थिए, त्यसैगरी अहिले एकताको खाँचो रहेको औंल्याए ।
 
 
नेता नेपाले संक्रमणकालबाट मुलुकलाई बाहिर निकाल्न नेपाली कांग्रेस र मधेशवादी दलहरुले प्रतिपक्षमा बस्ने र आन्दोलनमा जाने भन्दा सरकारमा आएर हातेमालो गर्न आग्रह गरे । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंहले जसरी संविधान निर्माण गर्दा राष्ट्रिय एकता कायम भएको थियो त्यसैगरी अहिलेपनि संविधानको कार्यान्वयन र मुलुकलाई आर्थिक विकासको गतिमा लैजान सहमति र एकताको खाँचो रहेको सुनाए । नेता सिंहले हिमाल, पहाड, तराई जहाँका जनताले आवाज उठाएपनि त्यो नेपालीहरुको आवाज भएकोले त्यसलाई सबै मिलेर वार्ता र संवादको माध्यमबाट समाधान खोज्नुको विकल्प कसैसंग नभएको बताए । 
 
जसका लागि सरकारमा रहेका दलहरु गम्भिर बन्नुपर्ने उनको भनाई थियो ।  त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनीले राष्ट्रिय सहमती र एकताको लागी सबै दलहरु जिम्वेबार रहेकोले पार्टी र व्यक्तिगत स्वार्थ भन्दामाथि उठ्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा भारतीय सत्तारुढ पार्टी भाजपाका उपाध्यक्ष भगत सिंह कोसियारीले समेत बोले । उनले नेपालको समस्या समाधान र विकासका लागि सबै पक्ष मिलेर अगाडी बढ्नुपर्ने सुझाव दिए । 
 
भारतीय जनता दलका प्रवक्ता विजयशंकर शास्त्रीले नेपाल आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुनुपर्ने सुझाव दिंदै छिमेकी देशको नाताले भारत नेपालको विकास र समृद्धि हेर्न लालायित भएको बताए । महाधिवेशन उद्घाटनमा भारतका विधायक तथा नेपालका अन्य राजनैतिक दलका नेताहरुले सफलताको शुभकामना दिए । 
 
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उद्घाटन कार्यक्रममा राष्ट्रिय राजनीतिलाई टुंगोमा लैजान एमाओवादी अध्यक्ष प्रचण्ड र आफु प्रतिवद्ध भएर लाग्ने बताउँदै त्यसका लागि सबै दलहरु एक ठाउँमा आउनुको विकल्प नरहेको बताए । उनले आन्दोलनले देशलाई क्षती मात्रै गर्ने भन्दै वार्ता र संवादबाट समस्याको समाधान खोज्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे । 
 
वैशाख २२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन कार्यक्रमपछि साँझबाट बन्द शत्र सुरु भएको छ । स्थानीय जैन भवनमा हुने बन्द शत्रमा पार्टीको विधान संशोधन, नाम परिवर्तन, केन्द्रीय पदाधिकारीको निर्वाचन तथा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल तथा बहस हुने जनाइएको छ । महाधिवेशनमा ६४ जिल्लाका २ हजार ५ सय प्रतिनिधि तथा ५ सय पर्यवेक्षकहरु सहभागी भएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ