arrow

संसदमा शक्ति प्रदर्शन गर्ने कांग्रेसको तयारी

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसले संसदमा शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ । सांसदहरुको हस्ताक्षर संकलन थालेको कांग्रेसले संसदमा कुनै पनि बेला जुनसुकै परिस्थिति आउन सक्ने भन्दै शक्ति प्रदर्शनको तयारी गरिरहेको हो । व्यवस्थापिका संसदको सवैभन्दा ठूलो दल एवं प्रमुख विपक्षी कांग्रेसले मंगलबारबाट सुरु भएको संसद् अधिवेशनमा जुनसुकै परिस्थिति आउन सक्ने भन्दै आफ्ना सांसदहरूको हस्ताक्षर संकलन थालेको हो ।
 
मंगलबार संसदको वैठक ३ मिनेट मात्रै बसेर स्थगित भइको छ । वर्तमान एमाले नेतृत्वको सरकारको काम कारबाहीप्रति असन्तुष्ट कांग्रेसभित्र सरकारको विकल्प खोज्नुपर्ने आवाज समेत उठिसकेको छ । सरकार परिवर्तनको कुरा चलिरहेका बेला सुरु भएको हस्ताक्षर संकलन अर्थपूर्ण मानिएको छ । यद्यपि, कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मीन बहादुर विश्वकर्माले सरकारको विकल्प खोज्नु पर्छ भनिरहेकै बेला हस्ताक्षर संकलन भइरहेकाले सरकार परिवर्तनको लागि भन्ने हल्ला भएको बताए ।
 
उनले भने, ‘यो सरकार परिवर्तनको प्रयोजनको लागि भने होइन ।’ स्थगन प्रस्तावका लागि पनि हुन सक्छ । अन्य प्रयोजनको लागि पनि हुन सक्छ । हस्ताक्षर संकलन भइरहेको कुरा सही हो, उनले थपे, ‘तपाईले ठीक सुन्नु भएको हो, कांग्रेस संसदमा आफ्नो शक्ति प्रदर्शनका लागि पूर्व तयारी गर्दै छ ।’ संसदमा कुनै पनि प्रयोजनको लागि सांसदको हस्ताक्षर चाहिन्छ । सत्ताधारीहरुले आफुखुसी एकलौटी अघि बढ्न खोजे त्यसलाई रोक्न हाम्रो बल त चाहियो–विश्वकर्माले हाम्राकुरासंग भने । 
 
सरकारको विकल्प खोज्ने आवाज सवै सांसदले उठाएका छन् : खाँण
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद बालकृष्ण खाँणले भने सरकारको विकल्प खोज्ने कुरा सबै सांसदले उठाएको तर हस्ताक्षर संकलन नभएको बताएका छन् । उनले भने, ‘सरकार पूर्ण असफल भयो र सरकारको विकल्प खोज्नु पर्छ भनेर सबै सांसदले भनेका छन्, तर हस्ताक्षर संकलन भएको छैन ।’ खाँणले हस्ताक्षरका विषयमा पार्टीले आधिकारिक निर्णय नगरेको र सभापतिले समेत यस विषयमा केही नभनेको सुनाए ।
 
यद्यपि, सरकारबारे भने कांग्रेस संसदीय दलकै बैठकमा चर्को आलोचना भएको खाँणले जानकारी दिए । उनले भने, ‘वर्तमान सरकार, भूकम्पपछिको पुनःनिर्माण, संविधान कार्यान्वयन, अभाव, कालोबजारी नियन्त्रण,  राजनीतिक सम्वाद र अन्तर्राष्ट्रिय सम्बन्ध बनाउने लगायतका सवै एजेण्डामा असफल भएको आवाज उठेको छ ।’ सरकार पूर्ण असफल भइसकेको सबैले भनेका छन् । यस्तै, कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले संसदीय दलको बैठकमा हस्ताक्षरका विषयमा कुरा नभएको बताए । उनले आफुलाई हस्ताक्षरबारे जानकारी नभएको सुनाए । सरकार परिवर्तनको कुराहरु भने उठेको छ–कार्कीले भने ।
 
अधिकांश नेताहरूले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नभई ‘स्थगन प्रस्ताव’ ल्याउन हस्ताक्षर संकलन भइरहेको हुनुपर्ने बताए । संसदीय अभ्यासमा ‘स्थगन प्रस्ताव’ भन्नाले सत्तापक्षले विपक्षीको माग बेवास्ता गरी सदनमा आफूखुसी कार्यसूची अघि बढाए त्यसविरुद्ध विपक्षीले राख्ने प्रस्ताव हो । जसका लागि २५ प्रतिशत सांसदहरूले लिखित निवेदन दिन सक्दछन् । विपक्षी सांसदहरूबाट त्यस्तो निवेदन आएको खण्डमा जारी कार्यसूची स्थगन गररे विपक्षीहरूले बोल्न वा उठाउन चाहेको विषयका लागि सदनले समय उपलब्ध गराउनुपर्ने प्रावधान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ