arrow

कर्णालीका युवामा कोरोना भेटिएपछि नगरपालिका सिल

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
corona-test-nepalgunj.gif

दुल्लु । कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएसँगै दैलेखको आठबीस नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको छ ।  

आठबीस नगरपालिका—१ सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना संक्रमण भेटिएपछि मङ्गलबारदेखि नगरपालिकालाई सिल गर्न लागिएको हो  । नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवत–जावत नहुने गरी नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको बताए । 

लकडाउनको ५६ औँ दिनमा कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित दैलेखमा भेटिएका हुन्  । शनिबार स्वाब सङ्कलन गरी सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा परीक्षण गर्दा ती युवामा कोरोना संक्रमण देखिएको थियो । 

थप पुष्टिका लागि बाँकेको भेरी अस्पतालको प्रयोगशालामा स्वाब पठाउँदा पनि उनमा कोरोना पोजेटिभ देखिएको थियो । भारतको आगरास्थित कोल्ड स्टोरमा काम गर्ने ती व्यक्ति त्यहाँबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएका थिए । वनवासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो । 

महेन्द्रनगरबाट गाडी रिजर्भ गरेर उद्धार गरी ल्याएका उनीसहित ३९ जनालाई लक्ष्मी माध्यमिक विद्यालय सात्तालाको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए ।

 उनले भने, “यहाँ आउने बेला उनीहरुको आरडिटी परीक्षण गरिएको थियो, त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछि जेठ ३ गते शनिबार हामीले सबैकोे स्वाब सङ्कलन गराएर परीक्षण गराउँदा ती युवामा कोरोना पोजेटिभ देखिएको छ ।” कोरोना संक्रमण भेटिएको थाहा पाएपछि वडा सिल गरिएको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ