arrow

काँग्रेसको रोजाई प्रचण्ड, भारत अझै ओलीकै पक्षमा

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
KP-oli-vs-Prachanda.jpg.jpeg
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रमुख कार्यभारका लागि काम नगरी लामो समय झिना काममा मात्रै अल्मलीएपछि नयाँ सरकारको वहस बाक्लिदै गएको छ । पुर्ननिर्माण र संविधान कार्यान्वयनको दुवै मुल कार्यभारमा ठोस रुपमा केही गर्न नसकेपछि ओली सरकारको दिनगन्ती सुरु भएको हो । 
 
ओलीपछि प्रधानमन्त्री बन्ने संभावना रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल मध्ये अहिले दाहाल नै अगाडी देखिएका छन् । काँग्रेसका नेताहरुले दाहाललाई नै प्रधानमन्त्री बनाएर नयाँ सरकारमा काँग्रेसले सम्मानजनक सहभागीता जनाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बन्नेगरी अगाडी बढ्न आग्रह गरिसकेका छन् । 
 
काँग्रेसको नेताहरुको आग्रह पछि एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा लगायतका नेताहरु सरकार परिवर्तनको गृहकार्यमा लागिसकेका छन् । उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री र आफ्नै पार्टीका एक जना उपप्रधानमन्त्री बन्नेगरी एमाले बाहेकका सवैलाई समेटेर नयाँ सरकार बनाउने कसरत सुरु गरेका हुन् । यस्तो अवस्थामा निर्वाचनमा जाँदा एमालेसंग प्रतिश्पर्धा गर्न काँग्रेस र एमाओवादी दुवैलाई सजिलो हुनुका साथै मधेशीहरु पनि सरकारमा आउने भएकाले संविधान कार्यान्वयनमा पनि सजिलो हुने एमाओवादीको निश्कर्ष छ । 
 
ओलीले काम गर्न नसकेको विषयमा जनस्तरबाट ओली र एमालेको सर्वत्र चर्को आलोचना भईरहेकाले अव पनि यही सरकारलाई समर्थन गरिरहने हो भने आफुहरु पनि आलोचनाको शिकार हुने एमाओवादीले बुझेको छ । ओलीलाई सवै भन्दा बढी साथ दिएको सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादी, अर्का प्रमुख दुई दल मधेशी जनाधिकार फोरम लोकतान्त्रीक र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सत्तारुढ दलहरु उनको विकल्पको खोजीमा लागेका छन् । त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, आन्दोलनरत पक्ष मधेशी मोर्चा लगायत पनि ओलीको विकल्पमा सक्रिय हुन थालेका छन् । 
 
नेपाल भित्रका प्रमुख शक्तिहरु काँग्रेस, एमाओवादी, मधेशी मोर्चा र अन्य अधिकांश साना दलहरु ओलीको विपक्षमा उभिएपनि छिमेकी राष्ट्र भारत भने अझै पनि ओलीकै पक्षमा रहेको छ । काँग्रेसका एक प्रभावशाली नेताका अनुसार ओलीको चर्को राष्ट्रवादबाट भित्रि रुपमा भारत रुष्ट रहेपनि ओलीबाटै आफ्नो काम पुरा गराउने भारतको रणनिति रहेको छ । 
 
लुम्वीनिमा हुने विश्ववौद्ध सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहभागीताका लागि ओलीले भारतीय अधिकारीहरुसंग निकै धेरै पुकार गरेका छन् । त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणलाई भव्य बनाईदिन पनि ओलीले भारतीय अधिकारीहरुसंग आग्रह गरिरहेका छन् । ओलीको यी दुई आग्रहको बदलामा भारतले ओलीबाट नै आफ्ना केही स्वार्थ पुरा गराउने रणनिति लिएको ति नेताले बताए । 
 
नयाँ बन्ने सरकारबाट भन्दा ओलीबाट नै आफ्नो स्वार्थ पुरा गर्न सजिलो रहेको भारतीय पक्षको बुझाई छ । वाहिर चर्को राष्ट्रवादी र भारत विरोधी देखिएकाले पनि भित्रि रुपमा ओलीबाट काम लिन सजिलो हुने भारतीय पक्षको निश्कर्ष हो । 
 
काँग्रेस सभापति देउवा भारत भ्रमणमा गएका बेला भारतले ओलीसंग असन्तुष्ट रहे झै गर्नु तर देउवालाई अगाडी बढ्न स्पष्ट ढाडस नदिनुले पनि भारत अझै ओलीकै पक्षमा रहेको पुष्टी भएको धेरैको तर्क छ । यसअर्थमा भारत अहिले ओलीका बारेमा पर्ख र हेरको रणनितिमा रहेको छ । केही समय अझै ओलीलाई नै हेर्ने र त्यसपछि मात्रै अर्को विकल्प तर्फ लाग्ने भारतको योजना रहेको भारत निकट एक विश्लेषकले बताए । 
 
संविधान कार्यान्वनय, मधेस मुद्दा सम्बोधन, भुकम्प पछिको पुननिर्माण लगायत मुख्य समस्या समाधानमा सरकार उदासिन देखिएको भन्दै सरकारलाई कार्यशैली परिवर्तन गर्न धेरै पटक दवाव दिदै आएको एमाओवादीले केहीदिन अघिदेखि अहिलेको सरकारको विकल्पको कुरा गर्न थालेको छ । यो संगै ओली सरकारको दिनगन्ती सुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ