arrow

ओली र प्रचण्ड बीच भेटवार्ता

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
KP-oli-vs-Prachanda.jpg.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ।
 
सत्तारुढ दुई प्रमुख दलका अध्यक्ष समेत रहेका उनीहरुबीच राष्ट्रिय सहमति निर्माण लगायत विषयमा छलफल भएको बुझिएको छ यद्दपि भेटवार्ताबारे औपचारिक जानकारी दिइएको छैन। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुबीच भेटवार्ता भएको तर छलफलका विषयवस्तुबारे जानकारी नभएको बताए।
 
मङ्गलबार साँझ वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र सत्ता साझेदार एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताको बैठक बसेको थियो। आज बिहान दुवै दलका आफ्ना आफ्ना स्थायी कमिटीको बैठकपछि ओली र दाहालबीच भेट भएको हो।
 
एमाले स्थायी कमिटीः राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णय
नेकपा (एमाले) स्थायी कमिटीको आजको ३८औँ बैठकले राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।
 
बैठकपछि पार्टी सचिव तथा प्रचार प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मुलुकमा राजनीतिक अस्थिरतालाई बढावा दिने प्रयासलाई बृहत्तर राष्ट्रिय सहमतिका आधारमा निस्तेज पार्दै अगाडि बढ्न पार्टीले संविधान निर्माण पूर्वदेखि नै र विशेषगरी १६ बुँदे सहमतिदेखि निरन्तर राष्ट्रिय सहमतिको पक्षमा आफूलाई उभ्याउँदै अवस्थामा राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने र संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दललाई बैठकले आह्वान गरेको छ ।’’ रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ