arrow

महराले पनि ओली सरकारलाई मुख फर्काए, ‘हामीले जेल जानु पर्ने हो ?’

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
krishna-bahadur-mahara-new.jpg.jpeg
काठमाडौं । एकिकृत माओवादी महासचिव कृष्णबहादुर महराले आफ्नो पार्टी अध्यक्ष एवं अन्य नेताहरुविरुद्धका द्वन्द्वकालिन मुद्दा बाँकी रहेको भन्दै के आफूहरुलाई जेल हाल्ने काम हुन लागेको हो भन्ने प्रश्न गरेका छन् ।
 
व्यवस्थापिका संसदको वुधबार बसेको बैठकमा महराले प्रश्न गरे, ‘के युद्धकालिन मुद्दा ब्युँत्याउने काम हुन लागेको हो ? प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा हामीले जेल जानु पर्ने हो ? नेताहरुलाई जेल हाल्नु पर्छ भन्ने अभिव्यक्तिहरु आउन थालेका छन् । यस्ता कुराले मुलुक अघि बढ्दैन ।’ यसअघि, मंगलबार बसेको एमाओवादी संसदीय दलको बैठकमा युद्धकालिन मुद्दाबारे जोडदार छलफल भएको थियो । 
 
बैठकमा सांसदहरुले नेतृत्वतहलाई आफुहरु सरकारमै भएपनि असुरक्षित रहेको सुनाएका थिए । उनीहरुले यस्तै अवस्थामा सरकारमा बसिरहनुको अर्थ नहुने बताएका थिए । जवाफमा दाहालले आफुहरुबीचमा आहिले युद्धकालिन मुद्दाका उजुरीले आतंक मच्चिएको भन्दै वर्तमान सरकारसंग अब गम्भीर र निर्णायक वार्ता हुने बताएका थिए । दाहालले आफुहरुलाई अपराधि घोषीत गर्ने र शान्ति प्रक्रिया भङ्ग गर्ने खेल भइरहेको सुनाएका थिए । 
 
नभन्दै महराले बुधबारको संसद बैठकमा त्यही विषय झिकेका छन् । मंगलबार सांसदहरुले सत्ताको नेतृत्व गरीरहेको एमालेले नै विभिन्न संघ संस्थालाई उक्साएर आफुहरुलाई दोषी करार गर्नतर्फ ध्यान दिएको र पूर्व सहमति पालना नगरेको भन्दै व्यापक आलोचना गरेका थिए । एमाले र एमाओवादीबीच सत्ता साझेदारीमा खटपट उत्पन्न भएका बेला माओवादीको युद्धकालिन मुद्दाको बहस अर्थपूर्ण भानिएको छ । 
 
युद्धकालिन मुद्दा समेत अदालतले हेर्ने भन्दै विभिन्न क्रियाकलाप अघि बढेको भन्दै माओवादी नेताहरुले आफुहरुलाई अपराधी करार गर्न खोजेको आरोप लगाएका छन् । महराले नयाँ संविधानको कार्यान्वयन, भूकम्पपीडितलाई राहत तथा मधेस र जनजातीका मागलाई सम्बोधन गरेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने औँल्याए । तर, दाहालले वुधबार आफ्नो नेतृत्वमा सरकार गठनका लागि आह्वान गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ