arrow

कोरोना नियन्त्रणमा सरकारको काम प्रभावकारी भएन – रमेश लेखक

logo
प्रकाशित २०७७ जेठ १० शनिबार
ramesh-lekhak.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले कोरोना भाइरसको रोकथाम र उपचारमा केन्द्र र प्रदेश सरकारको भूमिका प्रभावकारी नभएको बताएका छन् । उनले सरकारको भूमिका प्रभावकारी नभएकैले कोरोना महामारीमा अझै चुनौती थपिएको बताएका छन् । 

दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिकाका मेयर र उपमेयरहरुका लागि शुक्रबार आयोजना गरेको ‘कोरोना प्रकोपमा स्थानिय सरकारको चुनौती तथा केन्द्रिय र प्रदेश सरकारको भूमिका’ बिषयक वेबिनारलाई सम्बोधन गर्दै नेता लेखकले कोरोना विरुद्वको लडाइँमा सरकारको क्षमता र नियममाथि प्रश्न उठको बताए । 

कोरोना रोकथाम र नियन्त्रणमा अहिले सबैभन्दा बढी चुनौती स्थानिय निकायहरुले बेहोर्नु परिरहेको स्मरण गर्दै नेता लेखकले उनीहरुलाई थप बलियो बनाउनमा सरकारले ध्यान नदिएको आरोप लगाए । 

उनले भने, ‘सरकारले लकडाउनलाई मात्र उपचार ठानेर कानमा तेल हालेर सुतेको देखिएको छ । विश्व स्वास्थ्य संगठनले समेत परीक्षणलाई महत्व देऊ भन्दा पनि न्यून मात्रामा मात्र पिसिआर परीक्षण गरिएकोले समस्या भयाभव भएको छ ।’ 

सिमित साधन र स्रोतका भरमा विदेशमा रहेका आफ्ना नागरिक भित्र्याउनु पर्ने, क्वारेन्टाइन बनाउनु पर्ने, परीक्षण गराउनु पर्ने मात्र नभएर विपन्नलाई राहत पनि बितरण गर्नु पर्ने सबै जिम्मेवारी स्थानिय निकायले एकै साथ बहन गरिरहनु परेकोले स्थानिय निकायका पदाधिकारीहरुलाई सबैबाट सहयोग र हौसलाको खाँचो भएको नेता लेखकले बताए । 

नेपाली कांग्रेसबाट बिजयी भएका सुदूरपश्चिमका विभिन्न १९ वटा नगरपालिकाका मेयर र उपमेयर सहभागी कार्यक्रममा नेता लेखकले संकटको घडीमा मात्र नेतृत्वको पहिचान हुने भएकाले कठिन परिस्थितिमा पनि जनताका सुखदुखमा दृढताका साथ काम गरिरहेकोमा सबैको कामको प्रशंसा गरे । 

लेखकले भने, ‘यो चुनौती र अवसर दुबै हो । जनप्रतिनिधिले आफू जनताको अभिभावक भएको देखाउने बेला यही हो ।’ लेखकले सुदूरपश्चिम प्रदेशमा राजगारीका भारत गएकाहरु हजारौको संख्यामा फर्किरहेकोले जोखिम बढी रहेको भए पनि परीक्षण गर्ने किटको अभावले स्थिति डरलाग्दो हुने औल्याए । 

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले पछिल्ला दुई दिनमा रोजगारीका लागि भारत गएका ५ हजारभन्दा बढी सुदूरपश्चिमेली भित्रिएका र यो क्रम जारी रहेको तर उनीहरुको परीक्षण गर्ने किट अभावले स्थिति भयाभव हुन लागेको बताए । 

कैलालीमा ३, डडेल्धुरामा १ र बैतडीमा १ गरि सुदूरपश्चिमका शुक्रबार मात्र ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । केन्द्र र प्रदेश सरकारले साना ठूला सबै नगरपालिकालाई समान बजेट दिने गरेकाले पनि समस्या परेकोमा वडले जोड दिए । 

सहभागी अधिकांश मेयर र उममेयरहरुले प्रदेश र केन्द्र सरकारले परीक्षण मात्र पनि गरिदिएको भए क्यारेन्टाइनको व्यवस्थापन गर्न आफूहरुलाई सजह हुने भन्दै त्यो पनि नगरिदिएकोमा केन्द्र र प्रदेश सरकारप्रति आक्रोस व्यक्त गरेका थिए । 

बैतडीको मेलौली नगरपालिकाका मेयर कृष्णसिंह नायकले भारतीय सिमाबाट नेपाल भित्र्याउँदा परीक्षण गरेर मात्र पठाइदिने व्यवस्था प्रदेश सरकारले गरिदिएको भए धेरै सहज हुने थियो भन्दै त्यसो नभएकाले प्रदेश सरकारको भूमिका माथि प्रश्न उठेको बताए । 

डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भिम साउदले केन्द्र र प्रदेश सरकारले विभिन्न नीति नियम स्थानिय निकायलाई थुपारिदिने तर आफू केही नगर्ने भन्दै प्रदेश सरकारको औचित्यमाथि प्रश्न चिन्ह लागेको बताए । 

बुढी गंगा नगरपाकिलाका मेयर दीपक शाहले केन्द्र सरकारको काम लकडाउन थप्ने मात्र हो कि ? भन्ने प्रश्न गर्दै प्रदेश सरकारले सिमावाट भित्र्याउदा स्वाव मात्र लिइदिएर पठाइदिएको भए स्थानिय निकायहरुलाई क्यारेन्टाइन व्यवस्थापनमा सहज हुने धारणा राखे । 

कमल बजार नगरपालिकाका मेयर ओम बिष्टले स्थानिय निकायले सिमित स्रोत सधानका बिच सकेको गरिरहेको बताउदै गृह मन्त्रालयको आदेश नआएसम्म आफुले एम्बुलेन्स समेत पठाउन नसक्ने अवस्था रहेको गुनासो गरे । 

बैतडीको दशरथ चन्द नगरपालिकाका मेयर नरेन्द्र थापा र पाटन नगरपालिकाका मेयर केशव चन्दले कामका लागि भारत गएकाहरु भित्रिने प्रमुख नाका बैतडी झुलाघाट भएकाले नाकामा चेकजाच नगराई भित्र्याउदा पछिल्ला दिनमा जोखिम बढ्दै गएको बताए । 

महाकाली नगरपालिकाका मेयर हंशराज भट्ट, शुक्लाफाटाका मेयर दीलबहादुर ऐर र बाजुरकाको बडीमालिकाका मेयर पदम बडुवालले प्रदेश सरकारले क्वारेन्टाइन व्यवस्थापनका लागि ४ लाख बजेट दिएर झारा टार्ने काम गरेको आरोप लगाए । 

बुंगल नगरपालिकाका मेयर धजबहादुर बिष्टले आरडिटी किट मार्फत परीक्षण गराएर जनताको आखामा छारो हाल्ने काम सरकारले गरेकाले त्यो बन्द गर्नु पर्ने बताए । कैलाली उपमहानगरपाकिलाकी उपमेयर शुशिला मिश्र भट्टले लकडाउन लम्ब्याउदै जादा ठूलो संख्यामा मानिसहरुमा मानसिक समस्या आउन थालेको बताउँदै यसका बिषयमा बेलैमा सोच्नु पर्ने अवस्था रहेको बताइन् । 

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपक भट्ट, दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष भोजराज जोशी, नेपाली कांग्रेस बैतडी काठमाडौं सम्पर्क समितिका अध्यक्ष दिनेश भट्ट, सचिव जनक भट्ट लगायत विभिन्न नगरपालिकाकाका मेयर र उपमेयरले आआफ्नो बिचार व्यक्त गरेका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सुदूरपश्चिममा ३ हजार ४ सय ५६ पिसिआर बिधिबाट र १९ हजार ७ सय ८ आरडिटी बिधिबाट गरि जम्मा २३ हजार ७ सय ६४ को कोरोना परीक्षण गरिएको छ । 

१० जना संक्रमित भएकोमा ५ जना निको भएर घर फर्किसकेका छन् भने ५ जनामा शुक्रबार मात्र देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको चिकित्सकले जनाएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ