काठमाडौ । नेपाली काग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्गले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमति बन्ने बढी सम्भावना रहेकोले काग्रेसले सहमतिको सरकार गठनको मार्ग चित्र स्वरुप प्रचण्डको नाममा सरकार गठनको प्रस्ताव गरेको स्पष्ट पार्दै काग्रेसले प्रचण्डलाई प्रस्ताव गरिसकेकोले अब एमालेले सभापति शेरबहादुर देउवाको नाम प्रस्ताव गरे पनि काग्रेँस नबहकिने दावी गरेका छन् ।
उनले भने,‘ यो सरकारमा संविधान कार्यान्वयन हुन नदिने संविधान विरोधीहरु छ त्यसैले यो सरकारमा काग्रेस जानु फेरि पनि संविधान कार्यान्वयनमा बाधक बन्नु हो । संविधान कार्यान्वयनको बाधक सरकार भएकोले काग्रेस त्यसको मतियार बन्न अहिलेको सरकारमा जाँदैन ।’
गुरुङले हिजो सहमतिको सरकार बनाउने विषयमा काग्रेसबाट केही कमजोरी भएकोले त्यसलाई सुधार्न सहमतिको सरकारको मिलन विन्दुको रुपमा प्रचण्डको नाममा सहमति गरेको दावी गरे ।
उनले संविधान कार्यान्वयन, पुर्ननिर्माण, कालोबजारी नियन्त्रण र जनताको चाहना पुरा गर्ने हिसावमा सरकार पूर्ण रुपमा असफल भएकोले पनि सहमतिकको सरकारकोलागि काग्रेसले मार्गचित्र प्रस्तुत गर्नु परेको जिकिर गरे ।
एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले सहमतिको सरकार निर्माणको दिशामा एमाओवादी दृढतापूर्व अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै आफूहरुले काग्रेस र मधेसी मोर्चाले प्रचण्डको नाममा सहमति गरेकोले सहमतिको सरकार गठनमा एमाले बाधक हुन नहुने तर्क गरे ।
उनले भने,‘ हामीले सहमतिको सरकार आवश्यक छ भनेका हौ । मोर्चालाई राष्ट्रिय धारमा नल्याई कुनै पनि काम सम्भव छैन ।
त्यसैले काग्रेस र मोर्चा प्रचण्डको पक्षमा आएकोले एमाले बाधक बन्नु हुँदैन भनेर हामीले भनेका हौ । हामीले यो सरकारलाई बजेट ल्याउन दिन्नौ भनेको होईन ।’प्रवक्ता शर्माले एमालेले बजेट ल्याउन दिनुस, सहमतिको सरकार निर्माणकोलागि आफूहरुले पनि प्रयास गर्ने र सहमतिको लागि बाधक नबन्ने प्रतिबद्धता ब्यक्त गरेकोले आफूहरुले यो सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिएको स्पष्ट पार्दै एमाले सहमतिको सरकार निर्माणकोलागि बाधक नबन्ने विश्वास ब्यक्त गरे ।
उनले बामपन्थीको सरकारले जनताको पक्षमा यति काम गर्यो भन्न सक्ने अवस्था नरहेको भन्दै अब पार्टी र कार्यकर्ता भन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने आवश्यकता औल्याए । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरुको माग संबोधन नहुँदा सम्म कुनै पनि सरकारमा नजाने स्पष्ट पार्दै अहिले सहमतिको सरकारको कुरा गाजरको बासुरी बजाउनु जस्तै भएको टिप्पणी गरे ।
उनले सरकारको भागबण्डाको खेलमा अहिले प्रचण्डले प्यादाको भूमिका खेलेको भन्दै उनको नेतृत्वमा सरकार बनेपनि मधेसी मोर्चा सरकारमा नजाने र सहयोग पनि नगर्ने स्पष्टपारे । यादवले भने,‘ यो सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा असफल भईसकेको छ । यो सरकारले समस्याको समाधान खोजेको छैन, काग्रेस गएपनि हामीलाई उत्साह छैन । हामी सरकार बनाउने र ढाल्ने खेलमा छैनौ । काग्रेस, एमाले र माओवादी हाम्रोलागि एउटै कित्तामा छन ।’
आफूहरु संसदमा रहेकोले सरकार निर्माणमा पक्ष वा विपक्षमा मत हाल्नु स्वभाविक भएको भन्दै अहिले जति दावी गरे पनि सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गरे । यद्यपि उनले काग्रेस, एमाले र एमाओवादी मिलेर सरकार बनाउँदा मधेसको मुद्दा समाधानमा भने केही सहजता हुन सक्ने तर्क गरे ।