arrow

अब्बल बन्दैछ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

logo
रासस,
प्रकाशित २०७७ जेठ १७ शनिबार
karnali-health-academy.jpg

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आफ्नो अब्बलता प्रस्तुत गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना उपचारका लागि निर्धारण गरेका देशका अस्पतालमध्ये सो अस्पताल अहिले दोस्रो स्थानमा रहेको जनाइएको छ।

कोरोनाको सम्भावित जोखिमलाई ध्यानदिँदै प्रतिष्ठानका नेतृत्वले शुरुमै यसको नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मीबीचको छलफललाई सघनता दिएका थिए।  अस्पताल निर्देशक डा मङ्गल रावल भने, “नेपालमा कोरोनाका बिरामी देखा परेसँगै प्रतिष्ठानले कोभिड टाक्स ग्रुप बनाएर आफ्नो गतिविधि अगाडि बढाइसकेको थियो। प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिमका बारेमा पूर्व तयारीमा रहन ध्यान आन्तरिक तयार गरेका थिऔँ।”

शुरुआति दिनमा स्थानीयस्तरमै पिपिइ सेट तथा स्यानिटाइजरको प्रतिष्ठानले आफैले व्यवस्थापन थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल्याङ्कनका अनुसार कोरोना सम्बन्धी सेवा तथा उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पछि  प्रतिष्ठान परेको छ।

आगामी वर्षको बजेटमा समेत प्रतिष्ठान उच्च प्रथामिकतामा परेको छ। “कर्णावासीलाई स्वास्थ्य सेवा दिन प्रतिष्ठानले अहोरात्र जुटिरहेको छ। ”प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेले भने। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय समिति सिसिएमसीको बैठकमा प्रतिष्ठानको कामले यतिबेला चर्चा पाएको छ। प्रतिष्ठानले परिचालन गरेको जनशक्ति र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको बिधि (मोडालिटी) देशभरिका लागि नै अनुशरण योग्य भएको बताइएको छ।

माथिल्लो कर्णालीको मात्र कोरोना परीक्षण जिम्मेवारी पाएको प्रतिष्ठानले सुर्खेत र  दैलेख जिल्लाका पनि स्वाब परीक्षण गर्न थालेको छ। ती जिल्लाका एक हजार ४० जनाको स्वाब परीक्षणमा दैलेख नारायण नगरपालिकाभित्रका १४ जना कोरोना सङ्क्रमण पुष्टि भएको प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरले जानकारी दिए। गत वैशाख २२ देखि सञ्चालनमा ल्याएको पिसीआर उपकरणबाट अहिलेसम्म तीन हजार बढीको स्वाब परीक्षण भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले जानकारी दिए। सबैभन्दापछि उपकरण सञ्चालनमा ल्याए पनि काम द्रुतगतिमा भइरहेको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए।

प्रतिष्ठानमा कार्यरत विशेषज्ञ चिकित्सक अशोक गौतम हुम्लामा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। दैनिक आठ घण्टाको यात्रा गरेर सर्वसाधारणलाई स्वास्थ्य सेवा दिइरहेका छन्। कोरोना भाइरस सङ्क्रमण फैलन अपनाउनुपर्ने सावधानीका विषयमा स्थानीयवासीलाई सतर्क गरिरहेका छन्। सधैँ प्रतिष्ठानमा आउने बिरामीको मात्र हेरबिचार गरेको उनी दुर्गममा निकै जमिसकेका छन्। उनीसँगै स्वास्थ्यकर्मी कर्मेन्द्र न्यौपाने छन्। सदरमुकाम सिमिकोटबाट झण्डै तीन दिनको यात्रा गरेर पुगिने दुर्गम क्षेत्रका सेवा गर्दै आएका छन्।

प्रतिष्ठानका अर्का विशेषज्ञ चिकित्सक शेरमान गुरुङ मुगुको कार्मारोङमा खटिएका छन्। उनी निकै खुशी छन्। कर्णाली पहिलेदेखि स्वास्थ्य सेवाका हिसाबले निकै कमजोर क्षेत्र हो। तर अहिले गाउँगाउँमा विशेषज्ञ सेवा सञ्चालन भइरहेको छ। कोराना भाइरसको जोखिमका समयमा उनी स्वाब सङ्कलन गर्ने र बिरामीको जाँच गर्ने कार्य गरिरहेका छन्।

विशेषज्ञ चिकित्सक टङ्क आचार्य कालिकोटमा सेवारत छन्। उनी यतिबेला बिरामीको उपचार तथा  स्वाब सङ्कलनमा ब्यस्त छन्। हुम्लाको एलवाङ, सर्केघाट, दार्मा, श्रीनगर र अदानचुलीमा चिकित्सक तथा स्वास्थ्यकर्मी खटिका छन्। हुम्लाको लागि मात्र छ चिकित्सक खटिएका हुन्। मुगुको सोरु र कार्मारोङ क्षेत्रमा एक महिनाको लागि चिकित्सकको टोली खटाइएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए। कोरोनामा केन्द्रित गरेर चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको उनको भनाइ छ। गाउँमा स्वास्थ्यकर्मी पुग्दा मुगुबासी निकै खुशी छन्। कर्णालीको हुम्ला, मुगु हेलिकोप्टरले स्वास्थ्यकर्मीको टोली पुर्‍याएको थियो।

कालिकोट जिल्लाको रासकोट, शुभकालिका र महावै गाउँपालिकामा प्रतिष्ठानको चिकित्सक खटिएका छन्। गाउँमा बिरामीको जाँच, कोरानाका बारे सचेतना र कोरोना परीक्षणका लागि स्वाब सङ्कलन  जारी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ