arrow

मातातीर्थमा आमाको मुख हेर्ने दर्शनार्थीको भीड

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
1462516716227_RS_KTM_160506_IMG_0311.JPG.jpeg
काठमाडौँ । वैशाख कृष्ण औँसीका दिन आमाको मुख हेर्ने मेलामा बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजका दिन काठमाडौँको उत्तरपूर्वी भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं ९ मातातीर्थमा आई धारामा स्नान गरेर कुण्डमा हेरेमा दिवङ्गत आमाका सन्ततिले मुख देख्ने जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो । 
 
कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माताहरु यहाँ आउँछौँ भनेपछि त्यसैबेलादेखि मेला लाग्न थालेको मातातीर्थ संरक्षण तथा विकास समितिका सल्लाहकार भाइकृष्ण बलामीले जानकारी दिए । 
 
बिहान २ बजेदेखि देशका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थको धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् । आमाको मुख हेर्ने कुण्डमा दर्शनार्थीले चढाएको फूल र प्रसादले ढाकेको छ । 
 
गोरखाबाट आमाको मुख हेर्न मातातीर्थ आएका श्यामकृष्ण वाग्ले पानी नभएका कारण धारामा स्नान गर्न नसकेको, मुख हेर्ने कुण्डको पानी धमिलो भएको र फूलैफूलले ढाकेकाले केही देख्न नसकिएको गुनासो गरे । वर्षमा एकदिन आजै भव्य मेला लाग्ने प्रसिद्ध स्थल भइकन पनि सम्बन्धित निकायले व्यवस्थापन गर्न नसक्दा अप्ठ्यारो भएको तीर्थयात्रीको गुनासो छ । 
 
समितिका अध्यक्ष शान्त उदास गत वर्ष वैशाख १२ गतेको भूकम्प र लामो खडेरीले यस क्षेत्रको पानीको मूल सुकेपछि स्नानका लागि धारामा कम पानी आएको बताए । “धार्मिक पर्यटकीय स्थल भए पनि सम्बन्धित सरकारी निकायको बेवास्ताका कारण यो स्थल छायाँमा परेको छ, हामी स्थानीयवासीको पहलमा व्यवस्थित गर्ने प्रयास गरेका छौँ” –उनले भने । 
 
गत वर्षसम्मका औँसीमा यस स्थलका धारामा पानी आए पनि यस वर्ष पानी नआउँदा मेला सञ्चालन गर्न कठिन भएको समितिको भनाइ छ । गत वर्षको औँसीमा चार लाख दर्शनार्थी आएकामा यस वर्ष पाँच लाख आउने अनुमान गरिएको छ । 
 
मातातीर्थमा दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लागेको छ । आज यहाँ आई आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 
 
आमा जीवित हुने सन्ततिले भने मीठो खान, लगाउन दिई श्रद्धाभक्तिसाथ सम्मान गर्ने परम्परा छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन् भने जस्तै हरेक नेपालीले आज जन्मदिने आमाप्रति कृतज्ञता ज्ञापन गर्दछन् । यस पर्वमा विशेष गरी विवाह गरेर घर गएका छोरी माइत फर्की आमाको साथमा बस्ने गर्छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ