झारखण्ड । यहाँको गाईको पहिचान गर्न स्थानीय सरकारले गाईलाई परिचय पत्र दिने भएको छ । परिचय पत्रमा १२ अंकका युनिक आइडेण्टीटी नम्बर हुनेछन् । यो कार्ड गाईको कानमा लगाईनेछ । भारतको केन्द्र सरकारको कृषि मन्त्रालयको निर्देशनका आधारमा गाईलाई परिचयपत्र दिन लागिएको सञ्चारमाध्यमले जनाएका छन् ।
झारखण्ड स्टेट इम्प्लीमेन्टिङ एजेन्सी फर केटल एण्ड बफेलो(जेएसआईएबी)ले गाईलाई परिचय पत्र दिलाउने व्यवस्था गरेको छ । जेएसआइएबीका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दप्रसादले परिचयपत्रमा गाईको तस्वीर, उमेर, रंग र गाईको मालिकको व्यहोरा उल्लेख गरिनेछ ।
स्थानीय सरकारले गाईको तस्करी रोक्न यो अभियान शुरु गरेको बताएको छ । यसबाहेक गाईको बीऊ र दुध उत्पादनको पहिचान गर्न पनि सजिलो हुने अपेक्षा गरिएको छ । परिचयपत्रको डाटालाई नेशनल डेयरी डेभलपमेनट बोर्डको डाटाबेसमा समेटिनेछ । जसका लागि बोर्डले सफ्टवेयर बनाईसकेको छ ।
जेएसआइएबीको नोडल अधिकारी डा. कृष्णकान्त तिवारीले परिचय पत्र दिने काम डिसेम्बरबाट शुरु गरिने बताए । पहिलो चरणमा यो अभियान झारखण्डको आठ जिल्लामा सञ्चालन गरिनेछ ।