arrow

राष्ट्रिय हित विपरित काम गरेकोले राजदुत उपाध्यायलाई फिर्ता बोलाईएको होः उपप्रधानमन्त्री रावल

आन्तरिक कारणले राष्ट्रपतिको भारत भ्रमण स्थगित गरिएको स्पष्टोक्ति

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
Bhim-rawal.gif.gif
काठमाडौ । उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले राष्ट्रिय हित विपरित काम गरेकोले भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको स्पष्ट पारेका छन् ।
 
रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले भने,‘ राजदुत जस्तो ब्यक्तिले अर्को देशमा काम गर्दा आफ्नो देशको अनुहार हेरेर सरकारको  नीति निर्देशन र कुटनीतिक मर्यादा कायम राख्न सक्नु पर्छ । परराष्ट्रमन्त्रालयलाई जानकारी नै नदिई कार्यक्षेत्र छाड्ने, तराई जस्तो आन्दोलन भईरहेको संवेदनशिल क्षेत्रमा अर्को देशका राजदुतसँग कार्यक्रममा संलग्न हुँदै हिड्ने र सरकार फेरबदलको प्रसंगमा उनको संलग्नताको कुरा आएको छ । यस्ता गंभिर विषयहरु आएपछि फिर्ता बोलाईएको हो ।’
 
साक्षात्कारमा उपप्रधानमन्त्री रावलले राजदुतले के काम गर्ने भन्ने मान्यता र कुटनीतिक मर्यादा विपरित जान नहुने भन्दै यस्तो संवेदनशिल विषयमा राजदुतलाई फिर्ता बोलाउन स्पष्टीकरण लिनु पर्ने वा सोध्ने पर्ने आवश्यकता नभएको दावी गरे ।
 
सञ्चारकर्मीको जिज्ञासामा रावले राजदुत फिर्ता भारतसँगको सम्बन्धमा फायर खोल्ने भन्दा त्यसलाई रोक्न भएको दावी गर्दै सरकारले भारतसँग सुमधुर सम्बन्ध राख्न चाहेकोले सम्बन्ध र समझदारीलाई अझै राम्रो र विकसित गर्न  फिर्ता बोलाउनु परेको तर्क गरे । 
 
कुटनीतिक कारण नभई आन्तरिक कारणले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको जानकारी दिदै रावलले भने,‘ देशमा संसद चलिरहेको छ, राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पर्ने छ, सरकार परिवर्तनको चर्चा चलिरहेको थियो, कानून निर्माणको कुरा छ यस्तोबेलामा राष्ट्रपतिको उपस्थिति आवश्यक देखेर भ्रमण स्थगित गरिएको हो ।
 
उनले राष्ट्रपतिको भ्रमण स्थगित हुनुको पछाडि राजदुत फिर्ता प्रकरणसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै मुलुक अप्ठ्यारोमा रहेको बेला सरकार प्रमुख र राष्ट्रप्रमुखको भ्रमण स्थगित गर्ने अन्तर्राष्ट्रिय प्रचलन नै भएको बताए । 
 
उपप्रधानमन्त्री रावलले नौ बुँदेमा सहमति अनुसार अर्को निर्वाचनसम्म यो गठबन्धन अगाडि बढ्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली काग्रेससहितका दलहरुले सहमति गर्नासाथै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पारे । यद्यपि उनले सरकार आउँदो हिउँदसम्ममा निर्वाचन गर्ने पक्षमा रहेको बताए । एमाले र एमाओवादीवीच भएको भनिएको भद्र सहमतिको विषयमा बोल्न अप्ठ्यारो पर्ने भन्दै भद्र सहमतिलाई भद्र नै रहन दिनु पर्ने धारणा राखे । 
 
प्राकृतिक स्रोत साधनमा आधारित राष्ट्रिय क्षमतमा सुरक्षा परिचालन  गर्न र समग्र सुरक्षा अवस्थालाई सदृढ गर्नेगरी सुरक्षा परिषदले राष्ट्रिय सुरक्षा नीति पारित गरेको भन्दै यसलाई छिट्टै मन्त्री परिषदले अनुमोदन गरेर कार्यान्वयनमा ल्याउने जानकारी दिए । उनले नेपालको भौगोलिक संबेदनशिलता लाई हेरेर सुरक्षा नीति र परराष्ट्र सम्बन्धलाई समेत संयूक्त रुपमा नीतिलाई अगाडि बढाईएको बताए । 
 
उपप्रधानमन्त्री रावलले आईतवार राष्ट्रपतिले सार्वजनिक गर्ने सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, संघीयतालाई प्रभावकारी बनाउन कानून निर्माण र संस्थागत प्रवन्ध गर्ने, स्थानीय निकायको निर्वाचनको तयारी, भुकम्प पछिको पुनःनिर्माण र पुर्नस्थापना, भौतिक पूर्वाधारको विकास, विकास निर्माण, सामाजिक सुरक्षा, उर्जा संकट निवारण, पर्यटन,कृषि क्षेत्रको विकास, शान्ति सुरक्षा दह्रिलो बनाउने, छिमेकीसँग पारस्परिक लाभको आधारमा सम्बन्ध अघि बढाउने र देशलाई विकासको गन्तब्यमा पुर्याउने गरी आउने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ