arrow

रुपन्देहीको कोटहीमाईमा जनप्रतिनिधिको संलग्नतामा रातभर नदिजन्य पदार्थको चोरी तस्करी 

स्थानियहरुद्धारा प्रहरी र प्रशासनको समेत मिलेमतो रहेको दावी

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ २६ सोमबार
giti-baluwa-silk-river-butw.jpg

रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ सिपुवामा जनप्रतिनिधिकै मिलोमतोमा स्थानिय दानव नदीमा अवैध नदीजन्य पदार्थ चोरी तस्करी हुँदै आएको छ । केही दिन पहिले राष्ट्रिय गौरवका योजनाका नाममा स्थानिय गाउँपालिकाले नदीजन्य पदार्थको ठेक्का लगाएको भएपनि तर नियम विपरित त्यहाँ अवैध तस्करी हुँदै आएको खुलेको हो ।

कोटहीमाई गाउँपालिकाले सो नदीजन्य पदार्थ निकासीका लागि गत माघ २३ गते सूचना प्रकाशन गरी टेण्डर आह्वान गरेकोमा ए आर के निर्माण कम्पनी लुम्विनीले त्यसको ठेक्का पाएको थियो। अहिले सो काम पाएको कम्पनीले कोटहीमाई गाउँपालिका वडा नं.१ वडाध्यक्ष राजमन जैसवालको प्रत्यक्ष मिलोमतोमा रातभर नदीजन्य पदार्थको चारी भइरहेको पाईएको छ ।

गत फागुन ११ गते देखि ए आर के निर्माण कम्पनीले ५६ लाख ३० हजार रुपैयाँमा ठेक्का पारेको थियो। कम्पनीले गत चैत ५ गतेदेखि नदीजन्य पदार्थ उत्खनन कार्य शुरु गरि जेठ २५ गते दिउँसो सम्म मात्रै निकासी गर्न पाउने उल्लेख गरिएपनि सो कम्पनी र जनप्रतिनिधिको मिलोमतोमा निरन्तर तस्करी हुँदै आएको स्थानियहरुले वताएका छन् ।

यसरी ठेक्का लगाईएको सम्झौता अवधि सकिए पनि सोमवार राती साढे १० वजे ५० भन्दा वढी ट्याक्टर जेसिवी प्रयोग गरी चोरी तस्करी भैरहेको जानकारी प्राप्त भएको छ । लुम्विनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख जानकीदेवी श्रीवास्तवका छोराले त्यसको ठेक्का लिएका हुन् । 

रातभर नदीजन्य पदार्थको चरम दोहन हुँदा समेत कोटहीमाई गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादव त्यस्तो कार्य नभएको दावी गर्छन् । यता कोटहीमाई गाउँपालिका वडा नं. १ वडाअध्यक्ष राजमन जैसवालले भने फोन उठाएनन् । यस्तै गाउँपालिकाका इन्जिनियर नुरुल हुसेन खाँनले पनि फोन उठाएका छैनन् । स्थानियहरुका अनुसार सो कार्यमा प्रहरीको पनि संलग्तनता रहेको हुन सक्ने दावी गरेका छन् । उक्त अवैध कार्य भैरहेको वारे जानकारी गराउँदा प्रहरीले कुनै वास्ता नगरेको स्थानियहरुले पटक पटक गुनासो गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ