अश्वेत नागरिक हत्या विरुद्धको प्रदर्शनमा जिपी कोइराला फाउण्डेशनको ऐक्यवद्धता
प्रकाशित २०७७ जेठ २९ बिहिबार
885
Shares
न्युयोर्क । अमेरिकामा भइरहेको जातिय विवेद विरुद्दको शान्तिपूर्ण प्रदर्शनमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले ऐक्यवद्धता जनाएको छ ।
मिनियानापोलिस राज्यमा एक प्रहरीको यातनाका कारण अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पुष्टि भएपछि अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रदर्शन भइरहेका छन् ।
मंगलबार बेलुका न्युयोर्क सिटीका काउन्सील मेम्बर फ्रान्सीसको मोयाको आयोजनामा पुलिस ज्यादती बिरुद्वको शान्ति र्यालीमा एेक्यबद्वता जनाउँदै जिपी कोइराला फाउण्डेशन अमेरिकाले भाग लिएको हो ।
फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सिम्खडा र्यालीमा सहभागी भएका थिए ।
यस्तै घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामाले पनि भाग लिएका थिए।
न्यूयोर्कमा सिनेटर जन सि लियुको आव्हानमा जुन ४, बिहीबार दिउँसो प्रदर्शन भएको शान्ति र्यालिमा ‘हामी सास फेरौं’ भन्ने नाराका साथ पुलिसमा सुधारहरु जरुरी छ भन्दै गिरिजा प्रसाद कोइराला फाउण्डेशनले पनि संस्थागत रुपमा नै भाग लिएको थियो ।
नेप्लिज अमेरिकन समुदायले आयोजना गरेको न्यायपूर्ण एेक्यवद्धता र्याली न्युयोर्कको ज्याक्सन हाइट्स, डाइभरसिटी प्लाजामा जुन ७,२०२० आइतबार दिउँसो गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले एक्यवद्धता जनाउदै सहभागी भएको थियो।
मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट अत्यन्तै “दुःखी” भएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए। ‘एक्काईसौं शताब्दीमा पनि अमेरिकामा रंगभेद अन्त्य गर्न नसक्नु दुःखद हो, जबसम्म हाम्रो सोचमा परिवर्तन आउँदैन, समस्याको समाधान निकै गाह्रो छ ।’
फाउण्डेशनका अध्यक्ष घिमिरेले शान्तिको माध्यमद्वारा मात्र स्थायी न्याय पाउन भन्दै कुनै किसिमको अन्याय स्वीकार्य नहुने बताए ।
उनले जहाँ न्याय छैन त्यहाँ कहिल्यै शान्ति नहुने भन्दै भने ‘हाम्रो सोच परिवर्तन गरौं र सबै खाले बिभेदको अन्त्य गरौं, यो सम्भव छ।’