arrow

राष्ट्रिय गौरवको हुलाकी सडक निर्माण कार्य रोकियो

logo
प्रकाशित २०७३ वैशाख २७ सोमबार
धनगढी। रुख कटानीको स्वीकृति नदिइएपछि कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी सडकअन्तर्गतको वसन्ता वन क्षेत्रको भागमा सडक निर्माण कार्य रोकिएको छ । 
 
वसन्ता वन क्षेत्रको दुई किलोमिटर लामो भागमा पर्ने रुख कटानीको स्वीकृति वन मन्त्रालयले नदिँदा निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर महेन्द्रराज पन्तले बताउनुभयो । 
 
उक्त क्षेत्रमा सडक निर्माण रोकिएपछि निर्माणमा संलग्न भारतीय निर्माण कम्पनी जी आर गावर, जिएलपी (सडक मर्मत र सम्भार)का लागि मात्रै बसिरहेको जनाइएको छ । 
 
वसन्ता वन क्षेत्रको ११ किलोमिटर लामो भागमध्ये नौ किलोमिटरमा मन्त्रालयले रुख कटानीको स्वीकृति दिई सो क्षेत्रमा निर्माण कार्य भइरहेकोमा वसन्ताकै कटनीदेखि रामपुरसम्मको थप दुई किमी क्षेत्रमा कटानीको स्वीकृति नदिएको बताइएको छ । 
 
कैलाली जिल्लामा सदरमुकाम धनगढीबाट हसुलिया, भजनी, वसन्ता वन क्षेत्र हुँदै सत्तीसम्मको ६२ किलोमिटर लामो र लम्कीबाट टीकापुरखक्रौलासम्मको २७ किमी लामो गरी दुई ‘प्याकेज’ को हुलाकी सडक निर्माण गरिने लक्ष्य लिइएकोमा धनगढीदेखि कटनीसम्मको ३१ किमी र भजनीदेखि सत्तीसम्मको १३ किमी सडक निर्माण पूरा भएको छ । 
 
यो भागमा १८ किमीमा सडक निर्माण हुन बाँकी रहेको छ । यस्तै लम्कीदेखि टीकापुरखक्रौलासम्मको २७ किमी लामो सडक पनि निर्माण पूरा भएको छ । 
 
कैलाली जिल्लामा पर्ने हुलाकी सडकखण्ड निर्माण कार्य ३० महिनाभित्र पूरा गरिसक्नुपर्ने गरी भारतीय निर्माण कम्पनीले निर्माणको ठेक्का पाएको थियो ।
 
जिल्लाको हुलाकी सडकखण्डमा पर्ने ११ नदी तथा खोलामाथि पुल निर्माणाधीन रहेकोमा यीमध्ये पाँच वटा पुलको निर्माण कार्य पूरा भएको छ । 
 
यता धनगढी बजार क्षेत्रको कुन ठाउँबाट हुलाकी राजमार्ग निर्माण गर्ने भन्ने विषयमा अझै कुनै टुङ्गो लाग्न सकेको छैन । टुङ्गो लाग्न नसकेपछि धनगढी बजार क्षेत्रमा पर्ने हुलाकी सडकको निर्माण कार्य दोस्रो चरणमा हुने जनाइएको छ । 
 
हुलाकी राजमार्गअन्तर्गत ठूला नदीमा पर्ने पुलको निर्माण, जग्गाको मुअब्जा, माटो, ढुङ्गा, गिट्टीजस्ता सामग्री व्यवस्थापनको जिम्मा नेपाल सरकारले र सडकलगायत साना पुलेसाको निर्माणको जिम्मा भारत सरकारले लिएको छ । 
 
कैलाली जिल्लामा पर्ने हुलाकी सडकको निर्माण लागत इस्टिमेट करिब रु एक अर्ब ३४ करोड रहेको छ । 
 
हुलाकी राजमार्ग निर्माणपछि सीमावर्ती क्षेत्रका बासिन्दालाई आवागमनमा सुविधा पुग्ने भई उनीहरूको आर्थिक जीवनस्तरमा परिवर्तन आउने विश्वास गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ