arrow

पाँचथरमा पहिलो संक्रमित भेटियो, उद्धार गरी ल्याइएकी थिइन् कुवेतबाट

logo
प्रकाशित २०७७ असार २ मंगलबार
covid-test-corona.jpg

पाँचथर । फिदिमस्थित क्वारेन्टाइनमा बसेकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा गत जेठ ३२ गतेदेखि उनी बसेकी थिइन् । उनको सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा आज रिपोर्ट आएको सुवेदीले बताए । 

कुवेतबाट उद्धार गरी ल्याइएकी उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै विभिन्न मुलुकबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त क्वारेन्टाइनमा राखिएका अन्य तीन जनामा भने कोरोना संक्रमण नदेखिएको सुवेदीले बताए । 

पछिल्लो पटक विदेशबाट आएका चार तथा भारतबाट आएका ५३ जना गरी ५७ जनाको स्वाब परीक्षण गरिएकामा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । संक्रमण पुष्टि भएकी ती युवतीलाई कोशी अस्पताल विराटनगर पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिए ।

 पाँचथरमा जिल्लाभित्रै पहिलो पटक कोरोना भाइरस संक्रमित भेटिएको हो  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ