काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरका प्रवन्धक डा.शत्रुघ्न प्रसाद साह विरूद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ। सार्वजनिक संस्थाको राष्ट्रसेवक पदमा बहाल रहँदा आफ्नो पदीय मर्यादा विपरित काम गरी दुई करोड ३८ लाख ६८ हजार ३० रुपैया गैरकानूनी रूपमा आर्जन गरेको आरोप सहित सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले शाह विरूद्ध आफ्नो प्राप्त अधिकारको दुरुपयोग गरी गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत भन्दा उच्च जीवनस्तर यापन गरेको भन्ने उजुरीका आधारमा छानविन गर्दा यस्तो भेडिएको पनि अख्तियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ । अख्तियारको अनुसन्धानको क्रममा डा.साहले दुग्ध विकास संस्थानको टेक्निकल अफिसर पद देखी प्रवन्धक पदमा बहाल रहँदासम्म पेश गरेको सम्पत्ति विवरण समेतएक करोड ४४ लाख ९७ हजार एक सय ३४रूपैयाँ देखिएको र सो को तुलनामा खर्च तथा लगानी गरेको रकम ३ करोड ८३ लाख ६५हजार एक सय ६४रूपैयाँ देखिएको पनि अख्तियारले जनाएको छ ।जसका कारण निजले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैर–कानूनी रुपबाट सम्पत्ति आर्जन गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले डा. शाह विरूद्ध २ करोड ३८ लाख ६८ हजार ३० रूपैयाँ ६५ पैसा विगो मागदाबी गरिएको पनि अख्तियारले जनाएको छ ।
उनी विरूद्ध साविकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५,दफा १६ (ग) तथा दफा २९ एवं भ्रष्टाचार निवारण ऐन,२०५९ दफा २० को उपदफा (२) अनुसारको जरिवाना र कैद सजाय हुन साथै भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को, दफा १६ (ग),दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदाबी गरिएको अख्तियारले जनाएको छ।