काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवमा कृष्ण पौडेल नियुक्त भएका छन् । मुख्य सचिव ऋषिकेश तिवारीले नव निर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्न भन्दै गत शुक्रबार पदबाट राजीनामा दिएसंगै नयाँ मुख्य सचिवको नियुक्ति भएको हो ।
तिवारीलाई तत्कालीन सभापति सुशील कोइरालाले मुख्य सचिव नियुक्त गरेका थिए । कोइरालासंग निकै निकट रहेर काम गरेका तिवारीले नैतिकताका आधारमा राजिनामा दिएका हुन् । पार्टी सचिव प्रदीप पराजुलीले विज्ञप्ती जारी गरेर आजकै मितिबाट पार्टी सभापति शेरबहादुर देउवाले पौडेललाई नियुक्त गरेको उल्लेख गरेका छन् । यद्यपि, देउवाले पौडेल अघि मुख्य सचिव बनाउने आश्वासन दिएर केन्द्रीय सदस्यको उम्मेद्वारी दिनबाट रोकेका डा.रणबहादुर रावल ओझेलमा परेका छन् । पौडेल निकटबाट कडा दबाब आएपछि देउवाले रावललाई अब अन्य कुनै पदमा नियुक्त गर्ने बचन दिएका छन् ।
पौडेल को हुन् ?
स्याङजाका पौडेल नेपाली कांग्रेस विभाजन हुँदा कांग्रेस प्रजातान्त्रिकको खम्बा थिए । उनी सो समयमा समेत सचिव थिए । पौडेल आन्तरिक मोर्चावन्दीका हस्ती थिए । अहिले समेत उनी देउवाको सम्पर्क कार्यालयको सचिव थिए । देउवालाई निकै सघाउने उनी १३ औं महाधिवेशनमा पनि हर्ताकर्ता थिए ।
काठमाडौंको गोंगबुमा रहेको विष्णुमति बोर्डिङ् स्कुलका प्रिसिपल सहेत रहिसकेका पौडेल नेपाल शिक्षक संघ तथा नेपाल ट्रेड यूनियन कांग्रेसको केन्द्रीय नेतृत्वमा रही लामो समयदेखि सक्रिय छन् । यस्तै, जतिपनि आन्तरिक छलफल हुन्थ्यो, गोंगबुमा उनकै एलाइन्समा हुने गरेको स्रोतले जानकारी दिएको छ ।
देउवाकै क्षेत्रका रावल किन भएनन् मुख्य सचिव ?
कैलालीका रणबहादुर रावललाई देउवाले १३ औं महाधिवेशनमा उम्मेद्वारी दिनु अघि नै पार्टी मुख्य सचिव दिने आश्वासन दिएका थिए । सोही अनुरुप रावल केन्द्रीय सदस्यको उम्मेद्वारीबाट पछि हटे । यद्यपि, देउवालाई पौडेल निकटस्थहरुले घेरेपछि रावललाई दिएको बचन पुरा गर्न सकेनन् । पौडेल निकटहरुले देउवालाई हिजो पार्टी फुटाउँदा र आज महाधिवेशनमा जिताउँदा पौडेल चाहिने, तर अहिले आएर क्षेत्रीयतालाई प्राथमिकता दिने भन्दै कसे ।
सोही दबाबले देउवाले आफु क्षेत्रीयतालाई प्राथमिकता दिएको आरोपबाट बच्न र आफ्नै भेगकालाई स्थान दिएको भन्नेहरुको मुख टाल्न समेत रावललाई मुख्य सचिव बनाउन सकेनन् । रावललाई अन्य कुनै आश्वासन दिएर देउवाले पौडेललाई मुख्य सचिव बनाएका हुन् । रावलको कैलाली देउवाको निर्वाचन क्षेत्र समेत हो ।
विज्ञप्ति
वैशाख २७, २०७३
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री ऋषिकेश तिवारीले आफ्नो पदबाट दिनु भएको राजीनामा पार्टी विधान बमोजिम स्वीकृत गरी रिक्त हुन आएको उक्त पदमा श्री कृष्ण प्रसाद पौडेल (स्याङ्जा) लाई आजकै मितिदेखि लागू हुने गरी नियुक्त गर्नु भएको छ । नवनियुक्त मुख्य सचिव श्री कृष्ण प्रसाद पौडेल नेपाल शिक्षक संघ तथा नेपाल ट्रेड यूनियन कांग्रेसको केन्द्रीय नेतृत्वमा रही लामो समयदेखि सक्रिय रहँदै आउनु भएको छ ।
प्रदिप पराजुली सचिव