काठमाडौं । शिक्षा क्षेत्रमा देखिएको चरम लापरवाही अन्त्य गर्न भन्दै शिक्षा मन्त्रालय, शिक्षा विभाग, नीजि विद्यालयहरूको छाता संगठन र संयुक्त विद्यार्थी संगठनको अनुगमन टोलीले गरेको अनुगमनमा विद्यार्थी तथा विद्यालय क्षेत्रमा विद्यामान रहेको चरम लापरवाही छरपस्ट भएको छ ।
विभिन्न सरोकारवाला निकायले सोमबार गरेको गोप्य अनुगमनको क्रममा विभिन्न पाँच विद्यालयमा यस्तो सर्मनाक कर्म भएको खुलेको हो । विभिन्न निकायका प्रतिनिधिहरू सम्मिलित उक्त अनुगमन टोलीलाई छुट्टा–छुट्टै समूहमा विभाजन गरी शिक्षा अनुगमन समिति मध्ये शिक्षा विभागका महानिर्देशक खगराज बरालको नेतृत्वमा भक्तपुरको मातृभूमि विद्यालयमा अनुगमन भएको थियो ।
सो अनुगमन टोलीमा संयुक्त विद्यार्थी संगठनका तर्फबाट नेपाल विद्यार्थी संगठनका लेखनाथ पोखरेल, प्याव्सनका अध्यक्ष लक्ष्य बहादुर केसी र शिक्षा विभागका प्रतिनिधिद्वय हरिहर अर्याल तथा कृष्ण पौडेल संलग्न थिए । उनीहरूले उक्त विद्यालयमा तोकिएको मात्रामा जिल्ला शिक्षा कार्यालयको तर्फबाट ग्रेडिङ समेत नगरिएको, निर्देशिका अनुसार शुल्क व्यवस्थापन नगरी विद्यार्थीसँग मनपरी शुल्क लिइएको लगायतका कमजोरी रहेको विद्यार्थी नेता पोखरेलले जानकारी दिए । उनले यस्तो अव्यवस्था देखेपछि सरकारी कर्मचारी र स्वयं निजी विद्यालयको छाता संगठनका अध्यक्ष समेत आश्चर्य चहकित भएको सुनाए ।
त्यस्तै, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक दिनेशलाल श्रेष्ठको नेतृत्वमा काठमाडौंको बनस्थलीमा रहेको सिद्धार्थ वनस्थली विद्यालयमा पुग्दा त्यहाँ पनि सोचिए भन्दा बढी अव्यवस्था भेटिएको छ । विभिन्न फर्जी विद्यार्थी देखाएर अनुदान आएको रकम समेत हिनामिना गर्ने गरेको, छात्रवृत्तिमा अनियमितता लगायतका समस्या देखिएको अनुगमन समितिका सदस्यहरूले जानकारी दिए । टोलीमा विद्यार्थी संगठनका तर्फबाट अखिल क्रान्तिकारीका रामचन्द्र अधिकारी, अखिल नेपाल विद्यार्थी युनियनका प्रविन मिश्र, तथा प्याव्सनकी उपाध्यक्ष दीपिका थापा लगायत संलग्न थिए ।
त्यसैगरी, नक्सालको बृहस्पती विद्या सदनले पनि विद्यार्थीलाई चरम ठगि गर्दै आएको भेटिएको छ । उक्त विद्यालयले समेत भर्ना शुल्कमा विद्यार्थीसंग बढी शुल्क लिने गरेको भेटिएको हो । उक्त विद्यालयले छात्रवृत्तिको कोटामा कुनैपनि विद्यार्थी नपठाएको समेत भेटिएको छ । विद्यालयको अनुगमनमा शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्सालको नेतृत्वमा अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, प्याव्सन महासचिव डि के ढुङ्गाना र विद्यार्थी प्रतिनिधिहरू गएका थिए ।
त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलीले पनि ओलम्पिया वल्र्ड सेकेण्डरी स्कूल अनुगमन गर्दा पनि त्यस्तै खालको अव्यवस्था भेटिएको छ ।