चीनिया टोलीले दैलेखमा इन्धनको अन्वेषण गरिरहेको छ : मन्त्री पाण्डे
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
1.2k
Shares
भक्तपुर । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्योग मैत्री रहेको बताएका छन् । रफत सञ्चार क्लबको साक्षात्कारमा मन्त्री पाण्डेले नेपाल र नेपालीको पहिलो आवश्यकता आर्थिक क्रान्ति रहेको भन्दै अहिले सम्मकै अत्यन्त राम्रो रहेको नीति तथा कार्यक्रम उद्योग मैत्री हुने जिकिर गरे ।
मन्त्री पाण्डेले दैलेखमा रहेको इन्धनको अन्वेषणका लागि चीनिया टोली पुगिसकेको र नेपालका अन्य दश ब्लकमा रहेको इन्धनको समेत तत्कालै अन्वेषण गरिने बताए । सरकारले उद्योग विस्तारका लागि नेपालका सात प्रदेशमा जमिन छुट्याईसकेको र नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिनुका साथै यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा झन्डै ३० लाखले रोजगारी पाउने बताए ।
मन्त्री पाण्डेले नेपाली उत्पादनका उद्योगहरुलाई विभिन्न किसिमका सहुलियत समेत उपलब्ध गराउनु साथै नेपाली उत्पादनलाई जोड दिने बताए । नेपाल सरकारले विभिन्न स्थानमा खोल्न थालेका उद्योगले नेपालको आर्थिक परिवर्तनमा ठूलो भूमिका खेल्नुसाथै देशलाई स्वावलम्वन पार्ने टिप्पणी गरे ।
सरकार परिवर्तनको विषय हल्ला र कसैको इच्छा मात्र भएको भन्दै मन्त्री पाण्डेले भने, ‘यो सरकारले नै स्थानीय निकायको निर्वाचनका साथै प्रतिनिधिसभाको निर्वाचन गर्नेछ ।’ संवैधानिक जटिलता रहेकाले समेत संविधानको केही धारा संशोधन नगरेसम्म सरकार परिवर्तन गर्न नसकिने बताए ।
एमाओवादीसँग सहमती गरेको नौ बुँदेले राजनीतिक वातावरणमा नकारात्मक असर नपार्ने भन्दै यो सहमती राजनीतिकरुपमा गरिएको मन्त्री पाण्डेले बताए । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले देशका लागि कुटनीतिक सवलता प्रदर्शन गर्न नसकेकाले उनलाई फिर्ता बोलाएको पाण्डेले बताए ।
राष्ट्रपतिको भारत भ्रमण रद्द हुनुमा अन्य कारण भन्दा पनि कुम्भ मेलालाई प्राकृतिक चपेटाले झेल्नु नै रहेको उनको भनाई छ । लामो समयसम्म पनि स्थानीय निकायको निर्वाचन गर्न नसक्दा देशको अर्थतन्त्र र विकासमा अबरोध पुगेको सबै राजनीतिक दलहरुले महशुस गरेकै कारण सरकारले निर्धारण गरेको मिति मै स्थानीय निकायको निर्वाचन सम्पन्न हुने मन्त्री पाण्डेले बताए ।