arrow

सरकार सानातिना-हल्काफुल्का होइन, साँचो कुरा गर्छ : प्रम ओली

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
kp-oli-final-final9.jpg.jpeg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अप्ठ्यारा र बाधा एवं विरोधमा नअल्झिेर देशका लागि सही कामको अगुवाइमा अघि बढ्ने बताएका छन् । ओलीले भने, ‘केहीले ठाउँ नपाएर सरकारको विरोध गरेका छन्, अनेक अभद्र गाली गर्ने संस्कारमा आफूलाई सीमित राखेका छन् तर सरकार सानातिना हल्काफुल्का कुरामा अल्झेर होइन, देशका लागि साँचो र सही बाटोबाट अघि बढ्न चाहन्छ ।’

पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको प्रथम वार्षिक स्मृतिसभामा प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका भ्रम र अन्योल चिर्दै मिलेर संविधानको कार्यान्वयन र राष्ट्रिय एकता आजको आवश्यकता भएकाले त्यस दिशामा लाग्न सबैमा आग्रह गरे ।

ओलीले लोकतन्त्रमा बाधा र अवरोधलाई सामान्य मान्नुपर्ने र त्यसलाई पन्छाउँदै सरकार देशलाई सबल बनाउन लागरहेको स्पष्ट पारे । सरकार भारत र चीन दुवै छिमेकीसँगको सुमधुर सम्वन्ध, पारस्परिक लाभ र सम्मानसहित एक्काइसौंँ शताब्दीअनुकूल सम्बन्ध विस्तारमा लागिरहेको समेत प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्रीले आफू जेल जीवनबाट बाहिर आएदेखि (२०४४) थापासँग निरन्तर सम्पर्क र सम्बन्धमा रहेकाले उहाँ परिचय, पहिचान र स्थान भएको देशको अभिभावकीय व्यक्तित्व हुनुहुन्थ्यो भने । देश र जनताको हितका प्रश्नमा थापाको सधैँ चिन्ता रहेको पनि ओलीले बताए ।

वि.सं १९८४ चैत ८ मा जन्मनुभएका थापाको २०७२ वैशाख २ मा निधन भएको थियो । पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरु प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, बुद्धिमान तामाङ, स्व थापाका छोरा सुनिलबहादुर थापा लगायतले थापाले लामो समय नेपालको राजनीतिमा दिनुभएको योगदानबारे चर्चा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ