arrow

तत्काल बैद्य–वादलको सम्बन्ध टुट्ने र पार्टी फुट्ने खतरा टर्‍याे

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
baidhya-badal-1.jpg.jpeg

काठमाडौं । फुटको संघारमा रहेको मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाको गुटगत भेला छलफल नै नगरी टुंगिएको छ । जसले तत्काल बैद्यबाट अलग हुने खतरा टरेको छ । मंगलबार डाकेको केन्द्रीय समितिको बैठक औपचारिकतामा प्रवेश नगरी टुंगिएयो । अध्यक्ष मोहन वैद्य बैठकमा नआउने भएपछि थापा समूहले वैद्यलाई पनि एमाओवादीसँगको एकताका लागि मनाउने निर्णय गरेको बताइएको छ ।

थापा समूहले वैद्यसँग समेत वार्ता गर्ने निर्णय गरेसँगै तत्काल पार्टी फुट्ने खतरा टरेको हो । एमाओवादीसँगको एकता विवादले वैद्य नेतृत्वको माओवादीभित्र दरार अाएकाे छ । रामबहादुर थापाले यसअघि एमाओवादीसंगको एकताका लागि हस्ताक्षर संकलन समेत गरेका थिए । थापाको नेतृत्वमा उनको समूहले छुट्टै केन्द्रीय समितिको बैठक डोकेको थियो । थापा समूहमा रहेकी माओवादी प्रवक्ता पम्फा भुसालले पार्टीको नेवा राज्य कार्यालय, कुपण्डोलमा बैठक बसेको जानकारी दिइन् ।

अध्यक्ष वैद्यले जेठ १ गते केन्द्रीय समितिको बैठक बोलाएपछि त्यसबारे छलफल गर्न आजको बैठक स्थगित गरिएको भुषालले बताइन् । उनले भनिन्, ‘अध्यक्ष वैद्य एमाओवादीसँग एकता गर्न सहमत हो भने हामी जेठ १ गतेको केन्द्रीय समितिको बैठकसम्म कुर्छौं, अन्यथा हामी आफ्नै ढङ्गले अगाडि बढ्ने आजको अनौपचारिक बैठकको निष्कर्ष रह्यो ।’

पार्टी अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल लगायतले नेता (एमाओवादी)सँग एकता प्रक्रियामा जान रुचि नदेखाएपछि थापाको नेतृत्वमा एकताका लागि छुट्टै तयारी भइरहेको थियो । दुवै समूहले आफ्नो पक्षमा बहुमत रहेको जिकिर गर्दै आएकामा फेरि सम्वाद गर्ने निर्णयले तत्काल पार्टी फुट्ने खतरा टरेको क्रान्तिकारी माओवादीका एक नेताले जानकारी दिए ।

अल्पमतमा परेपछि बैठक राेकिएकाे हो : गजुरेल
अध्यक्ष वैद्य पक्षीय नेता सिपी गजुरेलले थापा समूहले डाकेको बैठकमा न्यून केन्द्रीय सदस्यको उपस्थित भएपछि सो पक्षले बैठक स्थगित गरेको टिप्पणी गरे । अध्यक्ष वैद्यले एमाओवादीसँग एकताका लागि ११ बुँदा अघि सारेको तर थापाले त्यसलाई अस्वीकार गर्दै एक पक्षीय रुपमा एकता प्रक्रियामा जान खोजेको गजुरलेको भनार्इ छ ।

गजुरेलले भने, ‘हामीले कार्यदिशा पहिले मिल्नुपर्छ भन्यौँ, बादल (थापा)जीले एकताको महाधिवशेन गरेर त्यसले कार्यदिशा टुङ्ग्याउँछ भन्नुहुन्छ, त्यसैमा हाम्रो कुरा मिलेको छैन ।’ उनले पहिलो पार्टीको आन्तरिक एकता कायम गरेर मात्रै एमाओवादीसँग एकताका लागि वार्ता गर्नुपर्नेमा पार्टीलाई जानकारी नै नदिएर एकपक्षीय रुपमा एमाओवादीसँग थापा समूहले वार्ता गर्दै हिँडेको सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ