arrow

स्व क्षेत्रीका छोरालाई निःशुल्क पढाइने

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
Surya-Kumar-2.jpg.jpeg
काठमाडौँ। नेपाल प्रेस युनियनले युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीका छोराको निःशुल्क अध्ययनका लागि पहल गर्ने भएको छ।
 
स्व क्षेत्रीको निधनको तेह्रौँ दिनको पुण्य तिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा युनियनले अल्पायुमै निधन हुनुभएका क्षेत्रीका नाबालक छोराको निःशुल्क अध्ययनका लागि पहल गरिने उद्घोष गरेको हो।
 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले अल्पायुमै निधन हुनुभएका क्षेत्रीको परिवारलाई परेको दुःख कम गर्न युनियनले सक्दो सहयोग गर्नुपर्ने बताए।
 
नेता रिजालले क्षेत्रीको परिवारलाई सहयोग र उनका छोराको अध्ययनका लागि पार्टीका तर्फबाट पनि पहल गरिने बताउँदै सञ्चारकर्मीलाई पर्ने अप्ठ्यारो र उपचारका लागि राज्यका तर्फबाट कल्याणकारी कोष स्थापना गर्न आफू मन्त्री हुँदा पहल गरिएको स्मरण गरे।
 
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले पत्रकार क्षेत्रीको व्यावसायिक इमान्दारी र कर्तव्यनिष्ठताले उनी सबैले सम्झनयोग्य भएको र उनको आदर्शलाई युनियनले पछ्याउनुपर्ने बताए।
 
युनियनका संस्थापक एवम् काँग्रेसका नेता शोभाकर पराजुलीले बहुमुखी प्रतिभाका धनी क्षेत्रीको इच्छा पूरा गर्न युनियनलाई पत्रकार हकहितका लागि कार्यक्रम अघि बढाउन आग्रह गरे।
 
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरीले क्षेत्रीका नाबालक छोरालाई स्नातक तहसम्म ५० प्रतिशत छात्रवृत्तिका लागि पहल गरिने उद्घोष गर्ने बताए।
 
वरिष्ठ पत्रकार कबिर राणा, युनियनका कावा अध्यक्ष दीपक आचार्य, सल्लाहकार शिव लम्साल, उपाध्यक्ष ईश्वरी ओझा र महासङ्घ केन्द्रीय सदस्य प्रकाश तिमिल्सिनाले क्षेत्रीको निधनले मुलुकको सञ्चार क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताए।
 
युनियनका महासचिव अजयबाबु शिवाकोटीले पत्रकार क्षेत्रीका नाबालक छोराको निःशुल्क पठनपाठनका लागि पहल गरिने र सूर्यकुमार क्षेत्री पत्रकार कल्याणकोष स्थापना गरी कार्यविधि बनाएर सञ्चालनमा ल्याइने जानकारी दिए।
 
पत्रकार क्षेत्रीको ब्रेन टयुमरको उपचारका क्रममा यही वैशाख १६ गते ३३ वर्षका उमेरमा निधन भएको थियो। क्षेत्रीका सात वर्षीय छोरा र श्रीमती छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ