arrow

ल्यारक्याल लामाविरुद्ध ९ करोडको भ्रष्टाचार मुद्दा, सांसद पदबाट निलम्बन

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
lyarkyar-lama.jpg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादी सांसद ल्यारक्याल लामाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । यो संगै लामा सांसद पदबाट निलम्बित भएका छन् । अख्तियारले लामाले पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी रुपबाट सम्पित्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनस्तर यापन गरेको भनि आयोगमा परेको उजुरीबारे अनुसन्धान गर्दा लामाले आर्थिक हिनामिना गरेको  आरोप लगाएको छ ।

लामाको नगद र बैंक मौज्दात गरी खर्च तथा लगानी गरेको रकम २९ करोड ७९ लाख चौध हजार लेखिएको र आय भन्दा व्यय ९ करोड ४४ लाख ७२ हजार बढी देखिएको तथा सम्पत्तीको स्रोत नखुलेको हुँदा लामाले भ्रष्टाचार एवं गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी पदीय जिम्मेवारी दुरुपयो गरेको अख्तियारको ठहर छ ।

लामालाई अख्तियारले ९ करोड ४४ लाख ७२ हजार एक सय ७९ रुपैंया विगो भर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो । लामा केही महिना अघि मात्रै बैंक लकरमा गोली भेटिएपछि थुनामा परेको थिए । हात हतियार तथा खरखजनामा पक्राउ परेका उनी थुना मुक्त हुने वित्तिकै फेरि वैदेशिक रोजगार ठगिमा पक्राउ परेका थिए । पक्राउ परेका उनी धरौटी बुझाएर रिहा भएको थिए ।

आरोपपत्र

प्रेस विज्ञप्ति मिति: २०७३।१।३० गते ।
-------------------------------------------
आरोपपत्र दायर गरिएको (गैर कानूनी सम्पत्ति आर्जन)
---------------------------------------------------------
जि.सिन्धुपाल्चोक, हेलम्बु गाउँ विकास समिती-६ स्थायी घर भई हाल व्यवस्थापिका संसदका सदस्य डा.ल्हारक्याल लामाले पदमा बहाल रहदाँ आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनस्तर यापन गरेको भनि आयोगमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका क्रममा निज डा. ल्हारक्याल लामा मिति २०५८।०९।१९ मा गुम्बा विकास समितीमा अध्यक्ष पदमा नियुक्त भएको र त्यस यताको समयमा नेपाल सरकारको राज्यमन्त्री, संविधानसभा सदस्य हुदैँ व्यवस्थापिका संसद सदस्य पदमा बहाल रहेकोमा निजले सार्वजनिक पद धारण गर्नु अघि र सार्वजनिक पद धारण गरेपछि आर्जन गरेको चल, अचल सम्पत्ति र आय - व्ययको अनुसन्धान गर्दा एवं निजले सार्वजनिक पद धारण गरेको आ.व. २०५८।०५९ देखि २०७२।०७३ (पौष मसान्त) सम्मको अवधिमा निजको आय तर्फ हेर्दा तलवभत्ता, जग्गा बिक्री, ऋण तथा सापटी समेत गरी निजले पेश गरेको सम्पत्ति विवरण समेतबाट निजको आयआर्जन गरेको रकम रु.२०,३४,४१,८२१।– (अक्षरुपी बीस करोड चौतिस लाख एकचालीस हजार आठ सय एक्काईस ) रहेकोमा निजले घर निर्माण, जग्गा खरिद,शेयर खरिद,सवारी साधन खरिद, ऋण/सापटी साँवा व्याज भुक्तानी, घरायसी सामान खरिद, नगद मौज्दात, बैंक मौज्दात समेत गरी खर्च तथा लगानी गरेको रकम रु.२९,७९,१४,०००।४७ (अक्षरुपी उनान्तीस करोड उनासी लाख चौध हजार सत्चालिस पैसा) देखिएकोले निजको आय भन्दा व्यय रु.९,४४,७२,१७९।४७ ( अक्षरुपी नौ करोड चौवालीस लाख बहत्तर हजार एकसय उनान्असि रुपैयाँ सत्चालीस पैसा) बढि देखिनुको साथै उक्त सम्पत्तीको श्रोत नखुलेको हुँदा निजले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैर-कानूनी रुपबाट सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले निज डा. ल्हारक्याल लामा उपर जम्मा विगो रु.९,४४,७२,१७९।४७ ( अक्षरुपी नौ करोड चौवालीस लाख बहत्तर हजार एकसय उनान्असि रुपैयाँ सत्चालीस पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५,दफा १६ (ग) तथा दफा २९ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ दफा २० को उपदफा (२) अनुसारको जरिवाना र कैद सजाय हुन साथै निज हाल व्यवस्थापिका संसदको सदस्य रहेकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४ (क) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन एवं भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६(ग), दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ