arrow

विश्वका ८० प्रतिशतभन्दा बढी सहरिया वासिन्दा दुषित हावामा सास फेर्न बाध्य

प्रदुषति हावाका कारण बढ्यो फोक्सोको क्यान्सरको खतरा– विश्व स्वास्थ्य संगठन

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
KTM_Pollution.jpg.jpeg
जेनेभा । विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदुषित हावामा सास फेर्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ । यसका कारण जनस्वास्थ्यमा जटिलताहरु थपिँदै गएको पाइएको छ । 
 
विश्व स्वास्थ्य संगठनले गरेको पछिल्लो अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदुषित रहेको पाइएको हो । 
 
उक्त संगठनले गरेको सो अनुसन्धानपछि यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको व्यक्तिमा फोक्सोको क्यान्सको खतरा रहेको अनुमान गरिएको पनि देखाइएको छ । 
 
विश्वका गरिब देशका सहरहरुमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने गरेको तथ्य सो अनुुसन्धानमा राखिएको समाचारमा उल्लेख छ । 
 
विश्वका निम्न तथा मध्य आय भएका देशका सहरमा वायु प्रदुषण मुख्य समस्याका रुपमा देखिएको छ । यस्तो अवस्थाका देशका ९८ प्रतिशत सहर कमसल हावामा बाँचिरहेका देखिन्छ । 
 
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य तथा वातावरणसम्बन्धी निकायले निर्धारण गरेका मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा ती सहरहरु देखिन्छन् । जसले गर्दा नागरिकले यस्तो जोखिमपूर्ण वातावरणमा बाँच्नुपर्ने अवस्थामा पुगेका छन् । 
 
विश्व स्वास्थ्य संगठनको जनस्वास्थ्य विभागका प्रमुख मारिया नेइराले भन्नुभयो– हाल संसारमा यस्तो वायु प्रदुषणको अवस्था निकै नै गम्भीर रुपमा बढिरहेको छ र यसले नागरिकको स्वास्थ्यजस्तो सम्वेदनशिल विषयलाई पनि थप सम्वेदनशिल अवस्थामा नै पुर्‍याइदिएको छ । 
 
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वस्थ र वातावरणसम्बन्धी मापदण्डबाट विश्वका यस्ता देशका सहरहरु तल झरिसकेका पनि सो अनुसन्धानबाट खुलेको छ । 
 
मारियाले भन्नुभयो– यस्तो अवस्था निकै नै खतरनाक हो र यसैगरी आगामी दिनमा पनि स्वास्थ्यमा सुधारको लागि सबैले ध्यान नदिने हो भने यसले फोक्सोको क्यान्सरजस्तो घातक रोगलाई आमन्त्रण गर्ने खतरा दिन प्रतिदिन बढ्दै गएको छ । 
 
उक्त अनुसन्धानले अहिले पनि यस्ता नगरका नागरिक दम, हृदयघात तथा अन्य स्वासप्रस्वाससम्बन्धी समस्याबाट पीडित भएका पनि देखाएको छ । 
 
यो अनुसन्धनले घरभित्रको भन्दा बाहिरको वातावरणलाई केन्द्रित गरेको छ । विशेषत बटुवा र सहरमा आफ्नो काम विशेषले हिँड्ने नागरिकमा यो अध्ययन केन्द्रित रहेको छ । 
 
विश्वका ६७ देशका करिब ७९५ वटा सहरमा यो अध्ययन केन्द्रित गरिएको छ । यो अध्ययन सन् २००८ देखि सन् २०१३ सम्ममा गरिएको हो । 
 
विश्व स्वास्थ्य संगठनले वायु प्रदुषणको अवस्था धनी देशमा भन्दा बढी गरिब देशमा खतरनाक हुन पुगेको देखिएको पाइएको बताएको छ । 
 
सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरुको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ । 
 
तर पनि गरिब देशमा भने स्थिति झनभन्दा झन ह्रासोन्मुख हुदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरु मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरु पर्दछन् । 
 
वायुमण्डलमा देखिएको यो प्रदुषणका कारण विश्वमा अहिले पनि वर्षेनी कम्तीमा पनि तीस लाख मानिसको ज्यान जाने गरेको उक्त संगठनले जनाएको छ । 
 
स्याम्पलको रुपमा सहरहरुलाई लिँदा प्राय एक करोड ४० लाख जनसङ्ख्या भएको सहरलाई लिइएको उक्त अनुसन्धान प्रतिवेदनमा जनाइएको छ । 
 
सो प्रतिवेदनअनुसार अहिले पनि यसरी लिइएको स्याम्पलमा दक्षिण एसियामा सबैभन्दा बढी प्रदुषित सहर भारतको नयाँ दिल्ली हो । 
 
त्यसपछिका प्रदुषित सहरमा कायरो र बङ्गलादेशको राजधानी ढाका रहेको छ । यी दुई सहरको वायु प्रदुषणको अवस्थाले पनि तोकिएको हद नाघेको पाइएको छ । 
 
विश्व स्वास्थ्य संगठनको स्वास्थ्य तथा वातावरण विभागका संयोजक कार्लाेस दोराले भन्नुभयो– प्रदुषणका विभिन्न कारण छन् र त्यसमध्ये अत्यधिक मात्रामा सवारी साधनको प्रयोग एक हो । 
 
मध्यमबर्गीय राष्ट्रहरुमा सवारी साधन पनि प्रदुषित मापदण्डलाई पालना नगरिएका सवारी साधन चलाउने र यसले बढी मात्रामा प्रदुषण बढाएको पाइएको छ । 
 
बढी मात्रामा सवारी साधनको प्रयोगलाई घटाएर ट्राफिक भार कमगर्ने, बटुवाको लागि सडक पेटी राखी विरुवा रोप्ने र साइकलको प्रयोगगरी सवारीको चाप घटाउने गर्नाले यो समस्याको समाधान निस्किने पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 
त्यसैगरी तेस्रो विश्वका कतिपय देशहरुमा भने फोहोर व्यवस्थापनको अवस्था कमजोर भएको, फोहोरलाई डढाएर व्यवस्थापन गर्ने तरिका अपनाउदा त्यसले झनठूलो मात्रामा प्रदुषण बढाएको पाइएको पनि उल्लेख छ । 
 
त्यस्तै घरलाई न्यानो पार्नका लागि प्रयोग गरिने कतिपय धुवाँजन्य इन्धनले गर्दा पनि प्रदुषण बढाउने काम गरेको सो अनुसन्धानका क्रममा देखिएको पनि सो प्रतिवदेनमा उल्लेख गरिएको छ । 
 
उक्त प्रतिवेदनले जतिसक्दो चाँडो त्यस्ता प्रदुषित वस्तुहरुलाई हटाउन, उर्जाका लागि विद्युतीय प्रविधि अपनाउन र दउरा या कोइलाको प्रयोगलाई निरुत्साहित गर्न तथा सवारी साधनको प्रदुषण मापदण्ड लागू गर्न पनि सुझाएको छ । 
 
त्यसैगरी सडक पेटिमा हरियाली कायम गर्न, बटुवालाई केन्द्रित गरी सडक पेटीहरु बनाइ त्यसमा विरुवा रोप्ने र हरियाली सडक बनाउने जस्ता कार्यक्रमहरु अपनाउन पनि सुझाएको छ । 
 
यसरी गरिने सुधारका कारण साइकलको प्रयोगको मात्रा बढ्ने र त्यसका कारण वायु प्रदुषणको अवस्थामा सुधार आउने उक्त अनुसन्धानमा जनाइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ