काठमाडौं । नेपालका लागि चीनले सामान सहितको कार्गो रेल सेवा सञ्चालन गरेपछि चीनसँग व्यापार गर्दै आएका नेपाली व्यवसायीहरू हर्षित भएका छन् । पहिले कार्गो रेल सेवा सञ्चालनमा आउनुपूर्व लामो समयसम्म रेलमा सामान ल्याउनको लागि कुर्नुपर्ने अवस्थालाई चिर्दै चीनले सुरू गरेको रेललेृ नेपाली व्यवसायीहरूलाई सहजता सिर्जना गरेको व्यासायीहरू बताउँछन् ।
यस भन्दा अगाडि ढुवानीमा लाग्ने समय भन्दा पनि स्टेशनबाट सामान बोक्ने रेल कुर्न नै धेरै समय लाग्ने गरेकोमा साउथ एशिया र विशेषगरी नेपालको लागि बिहीबारदेखि चीन सरकारले कार्गो रेल सञ्चालन गरेपछि नेपालले पहिले भन्दा एक महिना छिटो नेपालमा सामान ल्याउन सकिने नेपाल हिमालय सिमापार वाणिज्य संघका महासचिव अर्जुनप्रसाद गौतमले जानकारी दिए ।
उनले यो रेल सेवा सधै सञ्चालन हुने र नेपाल तर्फको भौतिक पूर्वाधार विकासमा पनि सरकारले ध्यान दिने हो भने नेपाली व्यापारीहरूलाई भाडाबापत मात्रै २० प्रतिशत शुल्क सस्तो पर्ने दाबी पनि गरे । ‘एक महिनासम्मको भाडा जोगिँदा नेपाल ल्याउँदासम्म भाडामा मात्रै २० प्रतिशत भन्दा बढी फाईदा पुग्छ’ उनले भने ‘गाडी भाडामा कमि आएपछि त यसैपनि उपभोक्ता मुल्यमा पनि कमि आउने भईहाल्यो ।’
त्यस्तै संघका निवर्तमान अध्यक्ष नीलकण्ठ चौलागाईले पनि नेपाल र चीनको व्यापार सहजीकरणको लागि नेपाल सरकार नै गम्भीर बन्नुपर्ने उनको बुझाई थियो । चीनले नेपालसँग व्यापार गर्नको लागि आफ्नो चाहाना व्यक्त गरिसकेको छ । उसले पहिलो पल्ट कार्गो रेल सञ्चालनमा ल्याई पनि सकेको छ, उसले आफ्नो तर्फको बाटो पनि बनाउँदै छ तर नेपाल तर्फको बाटो बनाउन सरकार अझै तात्न नसकेको उनको बुझाई थियो ।
चौलागाई भन्छन् ‘अहिले नै यसबाट खाद्यान्न लगायतका सामग्री ल्याउन सकिन्छ भन्ने पक्षमा भने म छैन । तर, भौतिक पूर्वाधार बढाउँदै लाने हो भने धेरै व्यापार गर्न सकिन्छ । तर, अहिले भनेको लत्ताकपडा लगायतका सामग्री मात्रै हो ल्याउने ।’ उनले चीनले रेल पठाउनु मात्रै महत्वपूर्ण नभई सहज रूपले सामान आवत जावत हुने व्यवस्था मिलाउन पर्नेमा जोड दिए । त्यसो गर्न सकेको खण्डमा मुल्यमा पनि धेरै कमि आउने उनको बुझाई थियो ।
चौलागाई जस्तै चीनसँग प्रत्यक्ष व्यापार गर्दै आएका अन्य व्यापारीहरूले पनि चीनले यसरी सामान पठाउँदा शुल्क र समय दुबैमा धेरै बचत हुने तर्क गर्छन् । तर, पटकपटक सरकारले नेपाल र चीनको मुख्य व्यापारिक नाका तातोपानीलाई समेत पुनर्निर्माणको लागि खासै पहल गर्न नसकेको गुनासाहरू गरेका छन् । तातोपानी नाका नेपाल र चीनबीचको सबैभन्दा सहज नाका हो ।
अहिले नेपालमा चीनबाट आउने सामानको झण्डै ८८ प्रतिशत हिस्सा भारतीय बन्दरगाह मार्फत् आउने गरेको छ । यसरी चीनबाट भारतहुँदै आउँदा लाग्ने शुल्कमा सीधै नेपाल ल्याउँदा कमि हुनु अस्वभाविक पनि होईन । मुल्यमा सस्तो पर्ने भनेर भारतीय भूमि प्रयोग गरेर ल्याईएको सामान चीनले रेल सेवा सञ्चालन गरिसकेपछि भारतीय बाटोबाट ल्याउन लाग्ने समय भन्दा ३५ दिन अगाडी नै नेपाल आईपुग्ने चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ ।
बिहीबार मात्रै चीनले नेपालको लागि सामान बोकेको रेल लान्ठोउबाट सिगात्सेसम्मको लागि पठाएको थियो । पहिले सामान बोक्नको लागि पनि लामो समयसम्म पालो कुरेर बस्नुपरेका व्यापारीहरूको लागि सामान पठाउन मात्रै प्रयोग गरिने जनाईएको सो कार्गो रेलले धेरै फाईदा पुग्ने व्यसायीहरूको दाबी छ । उक्त रेल अहिले सिगात्सेसम्म ल्याईनेछ भने सिगात्सेबाट सो सामान सडक मार्ग हुँदै तिब्बतको गेलुङ आईपुग्नेछ र गेलुङबाट काठमाडौंमा उक्त सामान ल्याईने चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।