दुई सातापछि संक्रमणमुक्त भएर १४ कर्मचारी फर्किए घर
प्रकाशित २०७७ साउन ४ आइतबार
578
Shares
काठमाडौँ। कोभिड–१९ संक्रमण देखिएका नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ उडान कर्मचारी संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना संक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् ।
उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो ।
करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताइन् ।
कोरोना संक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो । चालक दलका अन्य सात जनाको पिसिआर परीक्षण गर्दा थप दुई जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको उनले उल्लेख गरे। निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए ।
देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले हार्दिक आभार व्यक्त पनि गरेको छ ।