- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुर्खेत । नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गतेराति १२ बजेदेखि खुला गरेपछि नागरिकलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका विषयमा गम्भीर नभएर नागरिकको स्वास्थ्यमा आघात पुग्ने पनि त्यत्तिकै खतरा छ ।
समाजका सबै ठाउँमा कोरोना संक्रमण नियन्त्रण आउन सकेको छैन तर मुलुकका सबै क्षेत्र खुला भइसकेका छन् । कोरोना संक्रमण भने नियन्त्रणमा आएकै छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरडिटी पिसिआर परीक्षणमा बुधबार कालीकोट रास्कोट नगरपालिकाका छ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख ठाँटीकाँध गाउँपालिका १६ गरी २२ जना कोरोना संक्रमित भेटिए ।
बिहिबार पनि दैलेख अस्पतालले गरेको आरटी पिसिआर परीक्षणमा २४ र प्रदेश अस्पताल सुर्खेतमा सुर्खेतका पाँच र सल्यानका एक गरी थप ३० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारी मिडिया ब्रिफिङद्वारा जानकारी दिए ।
दैलेखमा २४, सुर्खेतमा पाँच र सल्यानमा एक थपिसँगै बिहिबारका दिनसम्म कर्णालीमा संक्रमित हुनेको सङ्ख्या एक हजार ८१३ पुगेको महाशाखा प्रमुख डा तिवारीले बताए । कोरोना संक्रमण पुष्टि भएका ८६ प्रतिशत संक्रमित निको भएर घर फर्के पनि संक्रमण नियन्त्रणमा आउन नसकेको उहाँको भनाइ छ ।
बुधबार दैलेख अस्पतालले सार्वजनिक गरेको आरटी पिसिआर परीक्षणको रिपोर्टअनुसार कोरोना संक्रमण समुदायस्तरसम्म फैलिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना सम्पर्क व्यक्ति थीरप्रसाद रेग्मीले समुदायस्तरमा कोरोना संक्रमण छ वा छैन भनी दैलेख ठाँटीकाँध गाउँपालिकाका ४९ व्यक्तिमा नमूना परीक्षण गरिएकामा १६ व्यक्तिमा कोरोना संक्रमण देखिएको बताए ।
उहाँका अनुसार संक्रमित व्यक्ति उक्त गाउँपालिकाका १–६ वडाका थिए । यो अवस्थालाई नियाल्दा उनीहरु कोरोना प्रभावित क्षेत्रबाट नआएर गाउँकै व्यक्ति भएको जनाइएको छ । यसबाट समुदायका अन्य नागरिकमा कोरोना संक्रमणको आशङ्का बढेको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले सरकारले बन्दाबन्दी खुला गरिसकेकाले अब नागरिक आफैँ अनुशासित भएर यो रोगबाट बच्नुपर्ने बताए ।